खुलामञ्चमा फेरि डोजर चल्यो, अस्थायी वसपार्क समेत हटाउने
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ चैत्र २, सोमबार

काठमाडौँ महानगरको तयारी खुलामञ्चमा थुप्रिएका निर्माण सामग्री हटाई खुलामञ्च खुला गर्ने अभियान थालेको काठमाडौं महानगरपालिकाले त्यहाँ फेरी डोजर चलाएको छ । आइतबार खुलामञ्चमा डोजर चलाई महानगरपालिकाले त्यहाँ रहेका बाँकि संरचना भत्यकाइदिएका हो ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यहि अनुसार खुला गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो ।
‘आज खुलामञ्चमा पुर्ननिर्माणका लागि निर्माण सामग्री राख्न निर्माण गरेका संरचना वरीपरीको वार भत्काएका छौँ,’ उहाँले भन्नुभयो, ‘अब त्यहाँ बाँकि रहेका अस्थायी संरचना पनि छिट्टै भत्काउँछौँ र खुलामञ्चलाई पुरै खुला गर्छौ ।’
खुलामञ्चमा दरबार हाइस्कुलको निर्माण र बीर अस्पतालको पुनर्निर्माणका लागि निर्माण सामग्री थुपार्नुका साथै केही अस्थायी संरचनाहरुको निर्माण गरिएको थियो । अब ती संरचनाहरुको निर्माण कार्य सम्पन्न भएको भन्दै खुलामञ्चमा थुपारिएका निर्माण सामग्री र संरचना हटाउन थालिएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भै सकेको र वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा रहेको भन्दै केही दिनभित्रै सबै खुला गर्ने जानकारी दिनुभयो ।
ज्ञवालीले अस्थायी वसपार्कलाई पनि अन्तै व्यवस्थापन गरी छिट्टै त्यसलाई समेत खुला गर्ने जानकारी दिनुभयो ।
Categorized in स्थानीय