अमरराज सम्मान साँझको तयारी अन्तिम चरणमा
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७५ पौष १९, बिहिबार

वरिष्ठ संगीत स्रष्टा अमरराज सम्मान साँझको अन्तिम तयारी तीव्र रुपमा भइरहेको छ । यहि पुस २६ गते राष्ट्रिय नाचघरमा हुन लागेको सम्मान साँझको तयारी अन्तिम चरणमा भईरहेको हो ।
वरिष्ठ संगीत स्रष्टा अमरराजको नागरिक स्तरमा हुन लागेको सम्मानका सहभागीताका लागी नागरिक स्तरका सामाजिक संघसंस्था, व्यक्तिहरुको नाम धमाधम संकलन भइरहेको समारोह समितिका सह संयोजक आकाश राजोपाध्यायले बताउनुभयो ।
‘कार्यक्रममा वरिष्ठ संगीत स्रष्टालाई प्रदान गरिने सम्मान पत्रमा सहयोगी संस्था वा व्यक्तिहरुको नाम पनि समावेश हुनेछ’, सह संयोजक राजोपाध्यायले बताउनुभयो । ‘अहिलेसम्म १५ वटा जति नामहरु निश्चित भइसकेको छ, आउँदो १९ गतेसम्म संकलन हुने नाम सहित २० गते सम्मान पत्र बनाउन लगिनेछ ।’
पुस २६ गते वरिष्ठ संगीत स्रष्टा अमरराज शर्माको वृहत सम्मानको साथमा उनको एकल साँझ पनि आयोजना हुन लागेको हो । कार्यक्रम नजिकिएसँगै गायक संगीतकार अमरराज पनि आफ्नो प्रस्तुतिको अभ्यासमा जुटेका छन् । सो दिनमा आफुले प्रगतिशीलको साथमा सामाजिक सन्देशका गीत र प्रेमगीतहरु पनि प्रस्तुत गर्ने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा गायक संगीतकार शर्माको प्रस्तुतिको साथमा उहाँकै संगीतका लोकप्रिय गीतहरु अन्य गायक गायिकाबाट पनि प्रस्तुत हुनेछ । कार्यक्रममा गायक धनबहादुर गोपाली, सानुबाबु महर्जन, भुपेन्द्र बज्राचार्य, पवित्र कसाः, सुरजबीर बज्राचार्य, सुरज व्यन्जनकार लगायतले वरिष्ठ संगीत स्रष्टा शर्माको गीत प्रस्तुत गर्नेछन् ।
साथमा गायक अन्जन श्रेष्ठ र र्यापर पंकज राजोपाध्यायले अमरराजको सम्मानमा विशेष सांगितीक प्रस्तुति दिने जानकारी कार्यक्रम संयोजक बिराजकाजी राजोपाध्यायले दिनुभएको छ ।
वरिष्ठ संगीत स्रष्टा शर्माको संगीतमा संजीप प्रधानको भोलि फेरी सल्लाघारीमा, अथवा, जिन्दगी कस्तो कस्तो, सरोज दत्तको झमक्क साँझ पर्दाको साथै नेपालभाषाका गीतहरुमा प्रचण्ड राजोपाध्यायको गबलें गबलें, भुपेन्द्र बज्राचार्यको ल्वसा, सुरजबीर बज्राचार्यको जि यःम्ह, आनन्द कार्कीको निभाः लुइवं, मिलन अमात्यको गबलें कविता लोकप्रिय रहेका छन् ।
कार्यक्रमका लागी टिकट वितरण पनि शुरु भइसकेको छ । रु. ५०० र रु. ३०० दरका टिकट उपलब्ध रहेको समिति सदस्य रक्षण राजोपाध्यायले बताउनुभयो । फोन र सामाजिक संजालमार्फत टिकटको बुकिङ लिँदै घरघरमै टिकट पुर्याउने गरेको सदस्य रक्षण राजोपाध्यायले जानकारी दिनुभयो ।
कार्यक्रमलाई महर्जन कम्प्लेक्स, महर्जन विजनेस एसोसिएट्स, न्यूरोडले प्रायोजन गरेको छ ।
Categorized in पेजथ्री