arin enterprises

सम्पदाको नाममा राजनीति नगर्न मेयर शाक्यको आग्रह

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ चैत्र १४, शनिबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागले भ्रामक प्रचारको पछि लागेर कमलपोखरी पुनर्निर्माणमा समस्या खडा गरिरहेको दावी गरेका छन् । चौथो विश्व नेवाः दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन् ।

विना कुनै अध्ययन र जानकारी कमलपोखरीको पुनर्निर्माणमा अभियन्ता र पुरातत्व विभागले अवरोध खडा गरेको उहाँको दावी थियो ।

‘पुरातत्वले कमलपोखरीको पुनर्निर्माणमा पुरातत्वले वातावरण विगारेको भन्दै काठमाडौं महानगरपालिकालाई पत्र काट्यो, के वातावरण बिग्रियो, के हुँदैछ तपाईँहरुलाई थाहा छ भनी सोध्दा अभियन्ताहरुले उजुरी गरेकोले पत्र काटेको भनी जवाफ दिन्छ’ शाक्यले भन्नुभयो ।

विरोधमा लागेका धेरै व्यक्तिहरुले योजनाको अध्ययन नै नगरी भ्रामकको प्रचारको पछि लागेको शाक्यको भनाई थियो । केही समूहबाट प्रचार भएजस्तै कमलपोखरीमा कुनै पनि किसिमको कंक्रीटको संचरना नबन्ने शाक्यले प्रष्ट पार्नुभयो ।

‘त्यहाँ भएका क्लबको भवन, प्रहरी बिट लगायतका कंक्रीटका संरचना भत्काएका छौं, फेरी कंक्रीटको संरचना बनाउन लाग्यो भनेर कहाँबाट प्रचार गरियो थाहा छैन’ शाक्यले भने ।

क्लब भवन र प्रहरी बिट भत्काइएपछि कमलपोखरी झन फराकिलो बनेको प्रष्ट पार्दै कमलपोखरी कहाँ कसरी खुम्चियो त भन्दै प्रश्न गर्नुभयो ।

सम्पदा अभियानको नाममा राजनीतिक स्वार्थ पुरा गर्ने काम नगर्न शाक्यले आग्रह गर्नुभयो ।

Categorized in स्थानीय