संगीतकार मनराजाका एकल संगीतमा झुमे संगीतप्रेमीहरु
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७५ माघ ६, आइतबार

तीन दशकको सांगीतिक यात्राका लोकप्रिय गीतहरु प्रस्तुत गर्दै संगीतकार मनराजा नकर्मी एकल साँझ सम्पन्न भएको छ । लोकप्रिय गायक गायिकाबाट नकर्मी चुनिएका २१ गीतहरु प्रज्ञाभवनको डबलीमा प्रस्तुत गर्दै मनराजा एकल साँझ सम्पन्न भएको हो ।
मनराजाको आलापबाट शुरु भएको कार्यक्रममा संगीता राना प्रधान, टिका प्रसाई र रामचन्द्र काफ्ले, यम बराज, विश्व नेपाली, सन्तोष लामा, प्रकाश तिमल्सिना, सरीता शाही, दीपक लिम्बु, मनुका पौडेल लगायतले मनराजाको संगीतमा गीत प्रस्तुत गरे ।
गीत प्रस्तुतिकै क्रममा जुजुकाजी रंजित र रमना श्रेष्ठ, धनबहादुर गोपाली, रत्नशोभा महर्जनले पनि नकर्मीको संगीतमा आफ्नो स्वरको जादु देखाए । साथै आनन्द कार्की, संगीता थापा शाक्य, स्वयम्भूराज शाक्य, नीशा देसारको साथै हास्य सम्राट मदनकृष्ण श्रेष्ठ समेतले आफ्नो स्वरले दर्शकलाई नचाए ।
गायक गायिकाहरुको सांगितिक प्रस्तुतिमा दिनेशराज रेग्मीको संयोजकत्वमा २० जना वाद्यवादकहरुको साथ रहेको थियो ।
कार्यक्रममा मोहन ब्यञ्जनकार निर्देशित मनराजाकै संगीतमा सृजित लोकप्रिय गीतहरुमा नृत्यहरु पनि प्रस्तुत गरिए । मनराजाका चर्चित गीतहरुमा न्हूजः ब्यञ्जनकार र विनिता महर्जन, अञ्जला नकर्मी र सर्वप्रतिक कसजु र चर्चित नायिका आशिष्मा नकर्मीले नृत्य प्रस्तुत गरेका थिए ।
नेपालमण्डल टेलिभिजनले आयोजना गरेको कार्यक्रममा संगीतकार नकर्मीलाई सम्मान पनि गरिएको थियो । सम्मानपत्र प्रदान गर्दै नेपालमण्डल टेलिभिजनका प्रवन्ध निर्देशक प्रकाशकाजी डंगोलले कलामा सेवारत परिवारको एक प्रतिभा मनराजाको एकल साँझ आयोजना गर्वको विषय भएको बताए ।
हजारौं गीतमा तालवादन र सयौं गीतमा संगीत भरेका मनराजा नकर्मी हाल रेडियो नेपालमा मुख्य सङ्गीत संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । लेखेर तिम्रो नाम, चोखो माया, खैल्दै गर्दा (बालगीत सङ्ग्रह), प्रेमल, पहिलो किरण डिभीडी एल्बम, कृति, दुनिया, महशुस, सुशान्तको स्मृति, प्रभुको लिला, कलाकार, मञ्जरी, मन आनन्द गरी १३ वटा गीति सङ्ग्रह र नेपालभाषाका मिखाया अजलं, नानु, तय्जु, मन, सिमाकचा, निर्मल मन, सिमाकचा डिभीडी एल्बम, छ्यनय् तकुस्वां, जोभनया रंग गरी ९ वटा गीति सङ्ग्रह, सार्वजनिक भैसकेका छन् । साथमा Rhythmic Fusion Instrumental, सितार कासा, सितार तबला तानपुरा गरी ३ वटा धून सङ्ग्रह पनि प्रकाशित छ । नकर्मीले नेपाली चलचित्र क्षेत्रमा शंकरा, एकदिन एकरात तथा नेपालभाषाका शंकरा, तारेमाम, कुलङ्गार, व मिसा, याहू, अजःमिखा, लाखेय् भाजु गरी ८ चलचित्रमा सङ्गीत भरेका छन् ।
Categorized in पेजथ्री