ओलीले दिएको आश्वासन बाउन्स चेक जस्तै
SamacharDesk – बिराज | २०७७ चैत्र २३, सोमबार

जनता समाजवादी पार्टी (जसपा) नेपालया नेता राजेन्द्र प्रसाद श्रेष्ठले ओलीले दिएको आश्वासन टाठ पल्टेको व्यापारीले दिएको बाउन्स चेक जस्तै भएको बताएका छन् ।
जसपा शिल्पी विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले ओलीले पटकपटक आश्वासन दिँदै धोका दिने गरेको भन्दै ओली सरकारको उल्टो दिनगन्ती सुरु भएको बताए ।
‘अहिलेको परिस्थितिमा ओलीले दिएको आश्वासन टाठ पल्टेको व्यापारीले दिएको बाउन्स चेक जस्तै हो, यसमा फस्नु हुँदैन ।’ श्रेष्ठको भनाई थियो ।
श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापनापछि प्रधानमन्त्री एकपटक पनि प्रतिनिधिसभाको बैठक कक्षमा प्रवेश नगरेको भन्दै संसदलाई एउटा विधेयकसम्म नदिएको आरोप लगाए ।
‘सरकारले संसदका विभिन्न समितिहरूले पठाएको विधेयक रोकी राख्ने अनि पुनर्स्थापित संसदले प्रभावकारी काम गर्न सकेन भन्दै भ्रम छर्ने, यो त जो चोर उसैको ठूलो स्वर भनेजस्तै भयो’ नेता श्रेष्ठले भने ।
प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम ठीक छ भनी प्रमाणित गर्न प्रधानमन्त्रीले संसदीय समितिहरूले प्रतिवेदनसहित पठाएका विधेयकहरू समेत हाउसमा प्रस्तुत नगरेको दावी उनको थियो ।
जसपा कार्यकारिणी सदस्य रहेका नेता श्रेष्ठले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरणजस्ता परिवर्तनहरु पनि ओली शासनमा धरापमा परेको दावी गरे । नेपाली काँग्रेसले भर्खरै ओली सरकारको विकल्प दिन पहलकदमी लिने भनेर गरेको निर्णय सकारात्मक भएको बताए ।
वर्तमान प्रधानमन्त्री बोल्दै मात्र हिँडेर काम नगरेको आरोप दिँदै नेता श्रेष्ठले भने, ‘ओली आश्वासन शिरोमणी मात्र नभई शिलान्यास र उद्घाटन शिरोमणी पनि हुन् ।’
कार्यक्रममा शिल्पी विशेष प्रदेश समितिका अध्यक्ष दलमर्दन कामीको साथै पार्टी कार्यकारिणी समिति सदस्य दानवहादुर विश्वकर्मा, केन्द्रीय सदस्यहरू राजन केसी, कमला हेमचुरी, कृष्ण घलान लगायतले आ–आफ्नो विचार राखेका थिए ।
Categorized in राजनीति