काठमाडौंमा बसेर लडेको लडाईँले प्रतिफल नदिएको प्रचण्डको भनाई
SamacharDesk – बिकाश | २०७७ चैत्र २४, मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंमा बसेर लडेको लडाइँले आफूहरुलाई धेरै प्रतिफल नदिएको बताउनुभएको छ ।
३२ औं जनआन्दोलन दिवसको अवसरमा मंगलबार नेकपा माओवादी केन्द्रलेरुकुम पश्चिममा आयोजना गरेको जन प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले अब आफूहरु जनताको गाउँघर, टोलमा पुगेका बेला जनताको बलमा सफलता पनि प्राप्त हुने गरेको बताउनुभयो ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई व्यङ्ग गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मलाई गद्दार भन्नेहरूलाई गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरेँ । सायद मैले गल्ती गरेँ । म अब त्यस्तो गर्दिनँ ।’
संगठनमा कुनै प्रभाव नै नभएका मानिसलाई स्थायी समितिमा राखेको भन्दै उनले त्यस्ता मानिस अन्ततः ‘बिकाउ’ साबित भएको आरोप लगाए ।
जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन जाली फटाहा, प्रतिक्रान्तिकारीले प्रयास गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसका विरुद्ध संघर्षका क्रममा आफूले जनताको साथ खोजेको बताउनुभयो ।
आफूहरु देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्चविरुद्ध लडिरहेको बताउँदै जनताको बलिदान र त्यागबाट प्राप्त संघीयता र लोकतन्त्र लगायतका उपलब्धी रक्षाको लागि आफुहरु लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
