arin enterprises

२५ जना भन्दा बढी मानिस भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

SamacharDesk – बिराज | २०७७ चैत्र २७, शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो ।

मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भयो ।  यस्तै प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको उहाँको भनाई छ । प्रवक्ता गौतमले भिडभाड हुने सबै व्यवसाय तथा पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने पनि बताउनुभयो ।

यसैबिच नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २८८ जनामा संक्रमण देखिएको हो । यस्तै १२७ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या तीन हजार ३८ पुगेको छ ।

नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा २ हजार ६ सय १५ रहेको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।।

 

फोटो ग्यालरी : निषेधाज्ञाको पहिलो दिन लाजिम्पाटदेखि ढल्कोसम्म
Categorized in राष्ट्रिय