arin enterprises

नववर्षको सुरुवातसँगै विष्णुमती नदी सरसफाइ अभियान सुरु

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७८ बैशाख १, बुधबार

नयाँ वर्ष २०७८ को विहानीको नव किरणसँगै आजसंघीय सांसद जीवनराम श्रेष्ठसहित एक टोली काठमाडौंको शोभा भगवती विष्णुमति नदी किनारमा पुगे । एउटा पवित्र संकल्प लिएर सबैजना त्यहाँ भेला भएका थिए ।

त्यहाँ भेला भएका सबै जुटेर आज विष्णुमति नदी सरसफाइ गरे । सांसद श्रेष्ठको विशेष पहलमा शोभा भगवति मन्दिरबाट आज विष्णुमति सरसफाई अभियान शुरु गरिएको हो ।

आज विहान ७ बजेबाट ९ बजेसम्म विष्णुमति नदी सरसफाइ गर्दै अभियानको थालनी गरिएको हो ।

विष्णुमती वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरेको श्रेष्ठले बताए । हरेक महिनाको अन्तिम शनिवार विहान ७ बजे देखि ९ बजेसम्म सरसफाइ अभियान नियमित सञ्चालन हुने उनले बताए ।

‘जीवनमा गरेका अनेकौं क्रियाकलापमध्ये सम्झनलायक एउटा कार्यमा विष्णुमति नदी सरसफाइ पनि रहनेछ’, सांसद श्रेष्ठको भनाई हो, उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउन यो अभियानको थालनी गरिएको हो ।’

सरसफाइ अभियानमा वागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिका वडा १५ का अध्यक्ष साथै काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल, कामपा १५ वडा सदस्य मैयाँलक्ष्मी महर्जन, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, स्थानीय संघसंस्था, बाग्मती नदी सरसफाइका अभियन्ता लिलामणी पोखरेल तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति थियाे ।

वागमती प्रदेश सांसद अष्टलक्ष्मी शाक्यले उपत्यकाको धार्मिक, साँस्कृतिक सभ्यताको संरक्षणको लागि समेत विष्णुमती नदी सरसफाइ अभियान महत्वपूर्ण रहेको बताइन् ।

‘नदीमा फोहोर फाल्ने पनि मानव नै हो, जबसम्म मानवमा जथाभावी फोहोर फाल्नु हुँदैन भन्ने जनचेतना आउँदैन तवसम्म एकपक्षले फोहोर फालिरहने र अर्को पक्षले सफा गरिरहने परम्परा यथावत रहनेछ’ सांसद शाक्यले भनिन् ।

विष्णुमती नदीको उद्गमस्थल बुढानिलकण्ठस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै रहेको छ ।

Categorized in राष्ट्रिय