arin enterprises

ललितपुरको विश्वयात्रा पर्व अन्तर्गत यःसिँ ढालियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १, बुधबार

भक्तपुरमा बिस्काः जात्राको क्रममा भक्तपुरवासीहरु भेलुखेलमा यःसिँ उठाइरहँदा ललितपुरको भोलढोकामा पनि यःसिँ उठाइन्छ । भक्तपुरको बिस्काः जात्रा र यःसिँ उठाउने वा ढाल्ने गतिविधिको त खुबै चर्चा हुने गर्दछ तर ललितपुरको यःसिँको खासै चर्चा हुँदैन ।

कति ललितपुरवासीले त मन दुखाउँदै सामाजिक संजालमा लेखे पनि ‘ललितपुरको ओझेलमा परेको बिस्काः जात्रा’ भन्दै । ललितपुरमा चैत्र मसान्तको दिन यःसिँ उठाउँदै मनाइने यस पर्वलाई विश्वयात्रा पर्व भन्ने गरिएको पाइन्छ ।

कैयन ललितपुरवासीले यस विश्वयात्रा पर्वलाई ललितपुरको बिस्काः जात्रा नै भनिरहँदा ललितपुर तलेजुका पूजारी निरन ज्वालानन्द राजोपाध्याय भने यसलाई बिस्काः जात्रा भन्न नमिल्ने बताउँछन् ।

ऐतिहासिक दस्तावेजहरुमा यसलाई बिस्काः वा बिस्केत जात्रा भनी कतै उल्लेख नभएको उहाँ बताउनुहुन्छ । अहिलेसम्म पाइएका प्रमाणहरुमा यस पर्वको नाम विश्वयात्रा भनी उल्लेख भएको तलेजुका मूल पूजारी राजोपाध्यायले जानकारी दिनुभयो ।

ललितपुरको विश्वयात्रा पर्वको क्रममा आज वैसाख संक्रान्तीको दिन भैरव र नृत्येश्वरको खट यात्रा गरिएको छ । भैरव र नृत्येश्वरको खटलाई जावालाखेलस्थित मनमानेश्वरीमा पूजा गरि फेरी मंगलबजारमै फर्काउने गरिन्छ ।

खट मगंलबजार पुगेपछि द्विमाजु (उग्रचण्डा), भैरव र नृत्येश्वरको खटलाई कोटको गणेशसँग मेल गराई भोलगणेशस्थानमा लगिन्छ भने भोलागणेशमा ४ वटै खटको पूजा गर्ने परम्परा रहेको छ ।

खटको पूजा सम्पन्न भएपछि भोलगणेशमा अघिल्लो दिन अर्थात चैत्र मसान्तका दिन उठाइएको यःसिँ ढालिन्छ ।

यःसिँ ढालिसकेपछि चारवटै खटलाई मंगलबजारको कात्तिक डबलीमा लस्करै राखि तलेजु पूजारीद्वारा पूजा गरिन्छ भने पूजा पछि देउतालाई तलेजुको मूल पूजारीको घरमा लगेर राखिन्छ । वैसाख ४ गते मूल पुजारीको घरवाट देउतालाई पुनः तलेजुमा भित्र्याएपछि विश्वयात्रा पर्व सम्पन्न हुने गर्दछ ।

तर विगत केहि बर्षदेखि मूल पूजारीको घरमा नलगि देउतालाई तलेजुमै भित्र्याउने गरिएको छ ।

यसअघि हिजो चैत्र मसान्तका दिन मंगलबजारको भण्डारखाल बगैंचास्थित द्विमाजुमा तलेजुको पुजारीबाट भोलागणेश, द्विमाजु, भैरव र नृत्येश्वरको पूजा सम्पन्न भएको थियो ।

पूजाको क्रममा सिद्धिनरसिंह मल्लको राजखड्ग अगाडी राख्नुपर्ने प्रचलन रहेको छ । पूजापछि भोलागणेशलाई खट यात्रा गरि भोलढोकास्थित भोलगणेशस्थानमा लगेर राखिएको थियो ।

भोलागणेशको खटयात्रा सम्पन्न भएपछि हिजै राति भोलाढोकामा यःसिँ उठाईएको थियो ।

भक्तपुर, ललितपुर लगायत, मध्यपुर थिमि, बोडे, टोखामा समेत चैत्र मसान्तका दिन यःसिँ उठाएर बैसाख संक्रान्तीको दिनमा ढाल्ने परम्परा रहेको पाइन्छ ।

फाेटाेहरू हेर्न यहाँ क्लिक गर्नुहाेला : ललितपुरकाे विश्वयात्रा पर्व : फाेटाे फिचर

Categorized in संस्कृति