arin enterprises

मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ५, आइतबार

ईन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति चेन्नईमा भएको खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले हराउँदै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाउँदै १ सय ५१ रनको लक्ष्य दिएको थियो ।

लक्ष्य पछ्याएको हैदरावाद १९.४ ओभरमा १ सय ३७ रनमा अलआउट भयो ।

मुम्बईका लागि क्विन्टन डी ककले ५ चौका सहित सर्वाधिक ४० रन बनाए ।

कप्तान रोहित शर्मा ३२, इशान किशन १२ तथा सूर्य कुमार यादवले १० रन जोडे भने हार्दिक र क्रुनालले दोहोरो अंक जोड्न सकेनन् ।

केइरन पोलार्डले १ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३५ रन बनाए ।

यता हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाउँदा कप्तान डेभिड वार्नर ३६ रनमा रनआउट भए ।

विजय शंकरले २८ र विराट सिंहले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङमा मुम्बईका लागि ट्रेण्ड बोल्ट र राहुल चाहरले समान ३–३ विकेट लिए । जसप्रित बुमराह र क्रुनाल पाण्ड्याले समान १–१ विकेट लिए ।

हैदरावादका लागि विजय शंकर र मुजिब उर रहमानले समान २–२ विकेट लिए भने खलिल अहमदले १ विकेट हातपारे ।

यो जितसँगै मुम्बई ३ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बेंगलोरले २ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ ।

आजबाट प्रतियोगितामा दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो ३ः ४५ बजे रोयल च्यालेन्जर्स बैंलोरले कलकत्ता नाइट राइडर्ससँग खेल्नेछ भने दोस्रो खेल साँझ ७ः४५ बजे दिल्ली क्यापिटल्स र पञ्जाब किङ्स भिड्नेछन्।

Categorized in स्पाेर्ट्स