कमलपोखरी पुनर्स्थापना गर्न विश्व नेवाः संगठनको माग
SamacharDesk – कल्चर ब्यूरो | २०७५ फाल्गुण १५, बुधबार

हालै संचालनमा आएको काठमाडौंको ठमेलस्थित छायाँदेवी कम्प्लेक्समा ऐतिहासिक कमलपोखरी पुनः स्थापना गर्न विश्व नेवाः संगठनले माग गरेको छ । संगठनले प्रेश विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय स्तरमै परिचित ऐतिहासिक, सांस्कृतिक महत्वको कमलपोखरी यथास्थानमै पुनः स्थापना गर्न माग गरेको हो ।
सांस्कृतिक महत्वको स्थानीय नेवारहरुको गुथिको जग्गालाई छाया सेन्टरले गैरकानूनी तरीकाले कब्जा गरेकोमा आफ्नो ध्यानाकर्षण भएको संगठनले विज्ञप्तिमा जनाएको छ । गैरकानूनी रुपमा कब्जा गरी नेवाः सभ्यता मास्ने काममा कर्मचारी एवम् अधिकारीहरुकै मिलेमतो रहेको आशंका रहेको पनि संगठनले जनाएको छ ।
ऐतिहासिक कमलपोखरीसँग स्थानीय संस्कृति पनि जोडिएको भन्दै स्थानीय संस्कृति बचाउनका लागी सम्बन्धित निकायको साथमा स्थानीय वासिन्दालाई पनि ऐतिहासिक कमलपोखरीको पुनस्र्थापनाका लागी पहल गर्न संगठनले आव्हान गरेको छ ।
हालै निर्माण भई संचालनमा आएको ठमेलस्थित छायाँदेवी कम्प्लेक्स परिसरमा कमलपोखरी रहेको थियो । उक्त कमलपोखरीको साथै पोखरीले चर्चेको जग्गा सोही स्थानको विक्रमशील महाविहारको जग्गा भएको स्थानीयले दावी गर्दै आएका छन् । विक्रमशील महाविहारमा रहेका देवता सिंहसार्थबाहु अथवा चकंद्यःलाई स्नान गराउनलाई सोही पोखरीबाट पानी ल्याइनुपर्ने र सोही पोखरीमा फुलेको कमलको फुल देवतालाई चढाइनुपर्ने परम्परा रहेको स्थानीयको भनाई रहेको छ ।
Categorized in संस्कृति