हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीको निधन
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७५ फाल्गुण १५, बुधबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएको छ । ताप्लेजुङको डाँडामा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारी सहित हेलिकोप्टरमा सवार सातै जनाको मृत्यु भएको हो ।
पाथिभरा मन्दिरमा दर्शन पश्चात चुआन डाँडा विमानस्थल निरिक्षणको लागी जाँदै गर्दा ताप्लेजुङ डाँडामा हेलिकोप्टर दुर्घटना भएको हो ।
दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीको साथमा यति एअरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पाको पनि निधन भएको छ । साथमा हेलिकोप्टरमा सवार उप सचिब युवराज दाहाल, पाइलट प्रभाकर केसी, नेपाल उड्डयन प्राधिकरणका निर्देशक ध्रुब भोछिभोया, उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ र सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको पनि निधन भएको हो ।
उड्दै गरेको हेलिकोप्टर डाँडामा ठोक्किएर आगलागी भएर ठुलो आवाज सहित खसेको स्थानीयको भनाई रहेको छ । दुर्घटनास्थल निकै विकट स्थानमा रहेकोले उद्धार कार्यमा कठिनाई भइरहेको बताइएको छ ।
दुर्घटनास्थलका प्रत्यक्षदर्शीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ । र जल्दै गरेको हेलिकोप्टरमा अहिले आगो भने निभाइएको छ ।
उद्धारका लागी चारवटा हेलिकोप्टर घटनास्थलतर्फ गएको गृह मन्त्रालयले जनाएको छ ।
खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
Categorized in राष्ट्रिय