निर्वेश र रेवती बने मास्टर एन्ड मिस काठमाडौं नेवाः किन्डरगार्टेन
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७५ चैत्र २, शनिबार

सातौं मास्टर एन्ड मिस काठमाडौं नेवाः किन्डरगार्टेनको उपाधी निर्वेश र रेवतीले जितेका छन् । काठमाडौंमा शनिबार सम्पन्न सातौं मास्टर एन्ड मिस काठमाडौं नेवाः किन्डरगार्टेनमा प्रतियोगीतामा २५ जना प्रतिस्पर्धीबीच निर्वेश र रेवतीले उपाधी हात पार्न सफल भएका हुन् ।
उपाधी विजेता निर्वेशलाई २०१८ का उपाधी विजेता मास्टर राग डंगोलले उपाधीको टोपी लगाइदिए भने रेवतीलाई मिस नेवाः किन्डरगार्टेन २०१८ रेहना श्रेष्ठले ताज पहिर्याइदिइन् ।
प्रतियोगीतामा उत्कृष्ट बेस्ट पर्सनाएलिटिको पुरस्कार भने सम्मानले पाए । त्यसैगरी बेस्ट ड्रेस अक्षताले र बेस्ट स्पोकन मुखूले जित्न सफल भए ।
अन्य विधामध्ये बेस्ट नेपालभाषा लूजः, बेस्ट वाक तेन्जिन, उत्कृष्ट प्रस्तुति बेस्ट पर्फमर सम्यक, मोस्ट इनर्जेटिक आरोसा, बेस्ट स्माइल सेसुले जितिन् ।
पुरस्कृत सबैलाई चर्या नृत्य गुरु चन्द्रमान मुनिकारले पुरस्कार वितरण गरे ।
त्यसैगरी बेस्ट हेयर स्टाइलिस्को पुरस्कार मुखूका हेयर स्टाइलिस विभिनाले जितिन् । सेसुकी मेकअप आर्टिस्ट निक्किले बेस्ट मेकअपको पुरस्कार हात पारिन् भने बेस्ट ड्रेस डिजाइनरको पुरस्कार अक्षताका ड्रेस डिजाइनर मुस्कानले पाइन् ।
पुरस्कृत तिनै जनालाई काठमाडौं नेवाः किन्टरगार्टेनका प्रधानाध्यापक राजेन्द्र महर्जनले पुरस्कार प्रदान गरे ।
निर्णायक मण्डलमा फोटो पत्रकार रेखा शाक्य, गायक साथै संचारकर्मी सुरजबीर बज्राचार्य र चलचित्रकर्मी रवि सायमि सम्मिलित थिए ।
मातृभाषाबाट पढ्ने विद्यार्थीहरु पनि कुनै क्षेत्रमा कम छैनन् भनी देखाउनका लागि कार्यक्रमको आयोजना गरेको प्रधानाध्यापक महर्जनले बताउनुभयो । मातृभाषाको माध्यमबाट अध्ययन गर्न पाउँदा विद्यार्थीहरुले झन चाँडो बुझ्ने र सिक्ने हुँदा अभिभावकले पनि आफ्ना छोराछोरीलाई मातृभाषा माध्यमबाट शिक्षा दिन लगाउनुपर्नेमा महर्जनले जोड दिनुभयो ।
कार्यक्रममा प्रतियोगी विद्यार्थीहरुले नेपाली साथै पश्चिमी नृत्यहरु समेत प्रस्तुत गरेका थिए । साथमा, विद्यार्थीहरुलाई विभिन्न चाडपर्व र मौलिक नेपाली संस्कृति झल्किने भेषभुसामा मन्चमा उतारिएको थियो ।
Categorized in पेजथ्री