arin enterprises

दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १७, शुक्रबार

आइपिएलमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लिएको छ ।

बिहिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै दिल्ली आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो ।

टस हारेर पहिलो ब्याटिंग गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनाउँदै दिल्लीलाई १५५ रनको लक्ष्य दिएको थियो ।

कोलकताका लागि अलराउन्डर आन्द्रे रसेलले आक्रामक ब्याटिंग गरे । उनले २७ बलमा २ चौका र ४ छक्का सहित नटआउट ४५ रन बनाए ।

शुभमन गिलले ४१, राहुल त्रिपाटीले १९, नीतिश रानाले १५, दिनेश कार्तिकले १४, प्याट कमिन्सले अविजित ११ रनको योगदान दिए ।

यता १५५ रनको लक्ष्य पाएको दिल्लीले १६.३ ओभरमा तीन विकेट गुमाएर पार गर्‍यो ।

दिल्लीका लागि पृथ्वी शाले ४१ बलमा ११ चौका र ३ छक्कासहित उनले ८२ रन बनाए ।

उनले १ ओभरमा लगातार ६ बलमा ६ चौका प्रहार गरेका थिए । पृथ्वी दिल्लीका लागि आइपिएलमा ६ बलमा ६ चौका हिर्काउने एक मात्र ब्याट्सम्यान बनेका छन् ।

उनले इनिङ्सको पहिलो ओभरमा तीव्र गतिका बलर शिवम मावीले गरेको बलिङमा लगातार ६ चौका हिर्काएका हुन् ।

त्यस्तै, शिखर धवनले ४६, कप्तान ऋषभ पन्तले १६ र मार्कस स्टोइनिसले अविजित ६ रनको योगदान दिए ।

बलिङमा दिल्लीका लागि ललित यादव, अक्षर पटेलले २–२, आवेश खान र मार्कस स्टोइनिसले १–१ विकेट लिए। कोलकताका लागि प्याट कमिन्स एक्लैले ३ विकेट लिए ।

यो जितसँगै दिल्ली ७ खेलमा १० अंक सहित दोस्रो स्थानमा उक्लिएको छ भने कोलकता ७ खेलमा ४ अंकले पाँचौ स्थानमा छ ।

Categorized in स्पाेर्ट्स