arin enterprises

सम्पदा अभियन्ता यादवलालको घरमा फेरी प्रहरी

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७५ चैत्र ९, शनिबार

सम्पदा अभियन्ता यादवलाल कायस्थको घरमा आज फेरी प्रहरीले सर्च गरेको छ । यादवलाई खोज्न आएको भन्दै पुगेका २० जना जतिको प्रहरीको टोलीले आज विहान घरमा सर्च गरेको थियो ।

प्रहरी घरमा पुग्दा कायस्थ भने आज पनि घरमा थिएनन् । प्रहरीले कायस्थ घरमै लुकेर बसेको आशंकाले हरेक कोठा र दराजहरु पनि खोलेर हेरेर गएका थिए ।

यसैक्रममा प्रहरीले यादवको परिवारलाई भने धम्कीपूर्ण भाषाको प्रयोग गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सर्चको समयमा यादवको घर पुगेका अन्य अभियन्ताहरुका अनुसार प्रहरीले तेश्रोपल्ट फेरी आउनुपरे राम्रो नहुने भन्दै गएको बताएका छन् ।

सो बेलामा उपस्थित अभियन्ताहरुले कुनै ठुलै अपराधीलाई पक्राउ गर्न आएको शैलीमा १५–२० जना हतियारधारी प्रहरीहरु यसरी आउनु पर्नाको कारण बुझ्न नसकेको बताएका छन् ।

प्रहरी श्रोतका अनुसार यादवको घरसँगै जोडिएका उनका नातेदारहरुसँगको घरायसी झगडा र सो झगडाको क्रममा गालीगलौज गरेकोमा उजुरी परेको हुनाले सोधपुछ गर्नुपर्ने बताएका छन् । यसै सन्दर्भमा अभियन्ताहरुले घरायसी झगडाको मामिलामा दुइ भ्यान हतियारधारी प्रहरी आउनुपर्नाको कारण स्पष्ट पार्न माग गरेका छन् ।

साथमा यादवसँग झगडा परेका उनका नातेदार पक्षले वार्ताको क्रममा यादवले नेवाः राजनीतिक अभियानको उपाध्यक्ष पदबाट राजीनामा दिनुपर्ने शर्त राखेको बताए । यस आधारमा यो कुनै घरायसी झगडा नभई आदिवासी जनजातिको हक अधिकारको लागी शुरु भएको आन्दोलन दवाउने षडयन्त्र भएको दावी अभियन्ताहरुले गरेका छन् । घरायसी झगडाको रुप दिएर नेवाः आन्दोलनलाई दवाउन खोजिएको उनीहरुले भने ।

‘यदि घरायसी झगडा हो भने कुनै आतंकवादी समूहलाई नै खोज्न आए जसरी दुइ भ्यान हतियारधारी प्रहरी आइ घरमा घेरा हाल्नुपर्ने किन ? र नेवाः राजनीतिक अभियानबाट राजीनामा दिनु माग गर्नुपर्नाको कारण के हो ? यो नेवाः आन्दोलन दवाउने ठुलो र उच्च तहकै षडयन्त्र हो ।’ समाचारडेस्कसँग कुरा गर्दै यादवलालले भने ।

आफु लुकेर बसेको नभई, केही समय गुप्तवास बसेको र जातीय समानताको आन्दोलनमा लागि नै रहने कायस्थको भनाई हो ।

Categorized in समाज