arin enterprises

ललितपुरमा भव्यताका साथ 'कला र संस्कृति महोत्सव' मनाइने

SamacharDesk – सोसियल ब्यूरो | २०७५ चैत्र १२, मंगलबार

ललितपुर महानगरपालिका १६ वडाबाट आयोजना हुन लागेको कला र संस्कृति महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । लमपा १६ वडाले आज पत्रकार सम्मेलनको आयोजना गरी अन्तिम चरणको तयारी भइरहेको जनाएको हो ।

पत्रकार सम्मेलनमा महोत्सवको जानकारी दिँदै लमपा १६ वडाध्यक्ष साथै महोत्सव मूल समारोह समितिका संयोजक निर्मलरत्न शाक्यले आउँदो १३ गते महोत्सवको भव्य उद्घाटन हुने बताउनुभयो । गणतन्त्र नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनबाट पाटन दरवार क्षेत्र, मंगलबजारमा हुने सभामा महोत्सवको समुद्घाटन हुने जानकारी शाक्यले दिनुभयो ।

ललितपुर महानगरपालिका भित्र रहेका अनुपम कलाकारिता नेपालको साथमा विदेशमा समेत पहिचान गराई प्रवद्र्धन गर्ने उद्देश्यसहित यो महोत्सव हुन लागेको वडाध्यक्ष शाक्यले बताउनुभयो । ललितपुरको कलाकारितालाई विश्व सामु चिनाउनका लागि यो महोत्सव शुरुवात भएको र आगामी वर्षबाट अन्य वडाबाट पनि यस्ता महोत्सवलाई निरन्तरता दिँदै जाने शाक्यको भनाई थियो ।

५ दिनसम्म निरन्तर चल्ने यो महोत्सवमा ललितपुर महानगरपालिका १६ वडाभित्र रहेका मठमन्दिर, बहालबहिलहरु, वास्तुकला, काष्ठकला, प्रस्तरकला, धातुकला, चित्रकला, परम्परागत भेषभुषा, स्थानीय परिकार आदिको प्रदर्शनी हुने जनाइएको छ । महोत्सवमा सांस्कृतिक नृत्य, सांगितिक कार्यक्रमको साथमा ललितपुरको संस्कृति झल्काउने चलचित्र, लघु चलचित्रहरु र वृत्तचित्र समेतको प्रदर्शनी हुनेछ ।

टंगल, तिछुँगल्लीमा तामाका भाँडाकुडाको प्रदर्शनी, जोम्बहालमा काष्ठकला, कायगःननिमा विभिन्न चाडपर्वसँग सम्बन्धित सामग्री, झटापोल, चल्खु, सांल्हमा चर्या नृत्य, सांस्कृतिक झाँकि प्रदर्शनी गरिनेछ । पिम्बहालस्थित जगमदु पुखूमा बोटिङ, चिलंच्व स्तुपा वरिपरि विशिष्ट नेवार व्यक्तित्वको तसबीर प्रदर्शनी पनि हुनेछ ।

महोत्सव अवधीभर वडाका परम्परागत धिमे बाजा, धाः बाजा, नायखिं, नौ बाजा, खिं, लाखे नाच लगायत विभिन्न साँस्कृतिक झाँकि प्रदर्शन गरिनेछ । 

प्रदर्शनीको साथमा नेपाल क्राफ्ट सिटी, संस्कृति संरक्षण, पर्यटन प्रवद्र्धनबारे अन्तरक्रिया, डबली बहस पनि हुने भएको छ ।

महोत्सवमा ५ लाख अवलोनकर्ता भित्य्राउने लक्ष्य आयोजक समितिले राखेको छ ।

विश्वसम्पदामा सूचीकृत पाटन दरवार क्षेत्रको कृष्ण मन्दिर, हिरण्यवर्ण महाविहार, यशोधर महाविहार, रत्नाकर महाविहार लगायतका लिच्छवीकालीन विहारको साथमा ऐतिहासिक मूर्त अमूर्त सम्पदाहरु लमपा १६ वडाभित्रै परेको छ ।

वर्ल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५औं हस्तकला नगरी घोषणा गरेको अवसरमा लमपा १६ वडाले वृहत कला र संस्कृति महोत्सवको आयोजना गर्न लागेको हो । 

हस्तकला नगरीको उत्सव, कला संस्कृतिको महोत्सव भन्ने मूल नाराका साथ महोत्सव चैत १७ गतेसम्म चल्ने छ ।

Categorized in समाज