arin enterprises

आजसम्मकै उच्च संख्यामा संक्रमित निको

SamacharDesk – बिकाश | २०७८ बैशाख ३१, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टा अहिलेसम्मकै उच्च संख्यामा कोभिड संक्रमितहरु निको भएका छन् । पछिल्लो पटक ६ हजार भन्दा बढि संख्यामा कोभिड संक्रमितहरु संक्रमणमुक्त घर फर्केका छन् ।

६ हजार १३५ जना संक्रमितले भाइरसमाथि विजय प्राप्त गर्दै निको भएका छन् । योसँगै नेपाल कोरोना संक्रमण निको हुनेको कुल संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

यद्यपि संक्रमितको संख्या निको हुनेको भन्दा बढि रहेकोले निको हुनेको दर भने बढ्न सकेको छैन ।

थप ८ हजार ५२० नयाँ संक्रमित थपिएका छन् । २० हजार ९८४ आरटी पिसिआर परिक्षणमा ८ हजार ४६७ र ५३० एन्टिजेन परिक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

परिक्षण संख्याको तुलनामा यो ३९ दशमलव ६६ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । हिजो भने ४४ दशमलव २५ प्रतिशतमा संक्रमण देखिएको थियो ।

आज थप हुने नयाँ संक्रमितमा ९ वर्षसम्मका १९२ जना बालबालिकाहरु छन् भने १० देखि १९ वर्ष उमेर समूहका ५१० जना छन् ।

हाल एक लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित उपचाररत छन् । ९८ हजार ८६९ जना संक्रमित होम आइसोलेसनमा छन् भने ८ हजार ४६७ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

आइसीयूमा रहेका एक हजार ३३४ जनामध्ये ३७१ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

पछिल्लो २४ घण्टामा थप २०३ जना संक्रमितको कोभिड संक्रमणका कारण मृत्यु भएको सूचना प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोभिडका कारण मृत्यु भएर विभिन्न मितिमा नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्यासमेत गरी आज यो संख्या सार्वजनिक गरेको हो ।

हालसम्ममा ४ हजार ६६९ जना कोभिड संक्रमितको मृत्यु भइसकेको छ । 

Categorized in राष्ट्रिय