भैरवनाथको रथ तान्दै बिस्काः जात्रा सुरु
SamacharDesk – कल्चर ब्यूरो | २०७५ चैत्र २७, बुधबार

भक्तपुरको प्रशिद्ध बिस्काः जात्रा आजबाट सुरु भएको छ । आठ दिन नौ रातसम्म चल्ने बिस्काः जात्रा आज भक्तपुरको तौमरि टोलमा भैरवनाथको रथ तान्दै शुरु गरिएको हो ।
जात्राको पहिलो दिन न्यातपोल मन्दिर प्राङ्गण तौमारि क्षेत्रमा भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गर्ने गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई तान्ने गरिन्छ । यसरी रथ तान्दा रथलाई आफ्नो क्षेत्रतिर लानको लागि थःने र क्वःने टोलबीचमा प्रतिस्पर्धा हुने गर्दछ ।
रथलाई आठ वटा डोरीले अगाडि र पछाडि दुबैतिरबाट एकैपल्ट तान्ने परम्परा रहेको छ । यसरी तानेर रथलाई नगर परिक्रमा गराइ गःहिटी र्पुयाएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ ।
नेवार समुदायमा सौरमासको आधारमा चलाइने केहि संस्कृति मध्ये बिस्काः जात्रा पनि पर्दछ । यो जात्रासँग नागनागिनीलाई मारेको किम्वदन्ति जोडिएको छ । स्थानीय नेवार भाषामा सर्पलाई बि भनिन्छ । सोही अनुसार बिस्काः जात्रालाई बि सीधुंकाः अर्थात् नागनागिन मरेपछि मनाइएको जात्राको रुपमा विश्वास गरिएको छ ।
यसको साथमा विश्वकेतुबाट अपभ्रम्स भएर विस्क्यात, बिस्कात, बिस्काः भनिएको भन्ने कथन पनि समाजमा प्रचलित छ ।
सम्भावित झडपलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको थियो । जात्रा हुने स्थान तौमारिमा ठुलो संख्यामा प्रहरीको उपस्थिती देखिन्थ्यो । त्यसैगरी जात्रा शान्तिपूर्ण र सुरक्षित बनाउन जात्रा सञ्चालन हुने भक्तपुरको भार्वाचोदेखि दत्तात्रयसम्म ४३ वटा सीसी क्यामेरा पनि जडान गरिएको छ ।
सुरुको दिन चैत्र २७ गते तःमारिमा रथ तानिन्छ भने चैत मसान्तमा यःसिँखेलमा यःसिँ उठाइन्छ भने वैशाख १ गते साँझ उक्त यःसिँ ढालिन्छ । वैशाख ५ गते तःमारिमा भैरवको रथ तानेर न्यातपोल मन्दिरको पश्चिम कुनामा राख्न लगिन्छ । त्यसपछि देवतालाई मन्दिरमा भित्य्राएएपछि तान्त्रिक विधिअनुरुप पूजा गरी जात्रा सम्पन्न हुनेगर्दछ ।
भक्तपुर लगायत, मध्यपुर थिमि, बोडे र तोखाको साथै काभ्रेको खरपुमा समेत बिस्काः जात्रा मनाउने प्रचलन रहेको छ ।
Categorized in संस्कृति