शुरु भयो सेतो मच्छिन्द्रनाथको जात्रा
SamacharDesk – कल्चर ब्यूरो | २०७५ चैत्र ३०, शनिबार

सेतो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौंमा आजबाट शुरु भएको छ । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ जमलस्थित तीनधारा पाठशालाबाट तान्न शुरु भएसँगै यस वर्षको जात्राको शुरुवात भएको हो ।
हरेक वर्ष जात्राको पहिलो दिन, चैत शुक्ल अष्टमीको दिनमा रथ बनाइने स्थान जमलस्थित तीनधारा पाठशालाबाट रथ तान्न शुरु गरेर जात्राको शुरुवात हुने गर्दछ ।
परापूर्वकालमा एकजना ज्यापुले यहि स्थानमा खेत खन्दै गर्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला परेको जनविश्वास रहि आएको छ । सोही अनुसार यहि स्थानमा रथ बनाउनुपर्ने र जात्रा पनि यहिँबाट शुरु गर्नुपर्ने परम्परा रहेको छ ।
आज रथलाई जमलबाट तानेर असन पुर्याइएको हो । जमलबाट रथलाई तानेर रत्नपार्क हुँदै भोटाहितिबाट असन पुर्याइएको हो ।
आज रथलाई असनमै राखिनेछ । आज रातभर जसो नै दर्शन गर्ने र देवा (बत्ती) बाल्न आउनेहरुको घुइँचो नै लाग्ने गर्दछ ।
आजै राष्ट्रप्रमुख असनमा आई सेतो मच्छिन्द्रनाथको दर्शन गर्ने परम्परा रहेको छ । सो अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी असनमा पुगेर सेतो मच्छिन्द्रनाथको दर्शन गनुभएको थियो ।
सोभन्दा अघि, आजै सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा बोकेर तीनधारा पाठशाला पुर्याइएको थियो । सेतो मच्छिन्द्रनाथको मूर्तिलाई बाजागाजासहित खटमा बोकेर जमल पुर्याइ रथारोहण गराइसकेर रथ तान्न शुरु गरिएको थियो ।
जात्राको पहिलो दिन रथलाई तानेर जमलबाट असन पुर्याइन्छ भने दोश्रो दिन असनबाट तानेर हनुमानढोका दरवार क्षेत्रमा कालभैरवको मूर्ति अगाडी पुर्याइन्छ ।
त्यसैगरी तेश्रो दिन लगन पुर्याइन्छ । लगनको जात्रा सम्पन्न भएपछि सेतो मच्छिन्द्रनाथको मूर्तिलाई सानो खटमा राखेर बोकी बाजागाजासहित जनबहाल पुर्याइएपछि जात्रा सम्पन्न हुने गर्दछ ।
सेतो मच्छिन्द्रनाथको जात्रा विना कुनै वाधा, अवरोध सम्पन्न भएमा खेतमा बाली राम्रो हुने, देशमा कुनै संकट नआउने विश्वास रहि आएको छ ।
समाजमा प्रचलित किम्वदन्ति अनुसार ज्यापुले खेतमा सेतो मच्छिन्द्रनाथको मूर्ति भेट्टाएपछि सो मूर्तिलाई घरमा अन्न भण्डारन गरिराखेको भकारीमा लुकाइराखेको र त्यसपछि सो भकारीबाट जति अन्न झिक्दा पनि भकारीमा अन्न अलिकति पनि कम नभएको देख्दा अन्नदाता सम्झेर सेतो मच्छिन्द्रनाथको मूर्तिलाई कनकचैत्य महाविहार अथवा जनबहालमा मन्दिर बनाई स्थापना गरिदिएको हो ।
विहान सेतो मच्छिन्द्रनाथको दर्शन मात्र गरेपनि रोगव्याधीबाट मुक्ति पाइने जनविश्वास पनि रहिआएको छ । सोही अनुसार उमेर वा स्वास्थ्य अवस्थाको कारणले मन्दिरसम्म पुग्न नसक्नेहरुको लागी घरमै दर्शन दिन रथ जात्रा गरी सेतो मच्छिन्द्रनाथलाई नगर परिक्रमा गराइएको कथन समाजमा रहेको छ ।
धार्मिक सहिष्णुताका प्रतीकको रुपमा लिइने सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायकाले शिव, वैष्णवले विष्णु, शाक्तले शक्ति र बज्रयानी वौद्ध धर्मावलम्वीले आर्यावलोकितेश्वरको रुपमा पुज्ने गर्दछन् ।
करुणामय भनेर पनि चिनिने मच्छिन्द्रनाथलाई यहाँका स्थानीयले जनबहाःद्यः भन्ने गरेका छन् ।
फोटो ग्यालरी : अष्टमातृका गण नाच फोटो फिचर
Categorized in संस्कृति