‘उपमेयरले मेरो निर्देशन मान्दिनन’ – मेयर
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ बैशाख १३, शुक्रबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गीले आफ्नो निर्देशन नमानेको गुनासो गरेका छन् । खुल्लामञ्च खुला राख्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउन कामपा कार्यालय पुगेको टोलीलाई मेयर शाक्यले यस्तो गुनासो गरेका हुन् ।
आफुले खुलामञ्चको बारे अध्ययन गरेर प्रतिवेदन बुझाउन गत चैत्र २४ गते नै उपमेयर खड्गीलाई जिम्मेवारी दिएको मेयर शाक्यले जानकारी दिनुभयो । सो प्रतिवेदन बुझाउन उपमेयरलाई बारम्बार भन्दा पनि वास्ता नगरेको उनको भनाई थियो ।
टोलीसँगै मेयरलाई भेट्नलाई कामपा कार्यालय पुगेका सांसद भीमसेनदास प्रधानलाई मेयर शाक्यले भने, ‘उपमेयरलाई धेरै पल्ट प्रतिवेदन बुझाउन मैले भनिसकें, उहाँ मेरो निर्देशन त मान्नुहुन्न, अब तपाईं नै निर्देशन दिनुस् उहाँलाई ।’
खुलामञ्चमा सटरहरु बनाइएकोमा विषयमा सत्यतथ्य बुझेर आवश्यक कदम चाल्ने बताउँदै सो सत्यतथ्य उपमेयरले किन लुकाउन खोजेको भन्दै मेयर शाक्यले प्रश्न गर्नुभयो ।
‘खुलामञ्चकै अगाडी वडाध्यक्ष बसिरहेका छन्, उहाँलाई केही थाहा छैन रे । उपमेयरलाई सत्यतथ्य पत्ता लगाउन जिम्मा लगाउँदा मेयरको निर्देशन किन मान्ने भन्दै जिम्मेवारीबाट पन्छिने । अनि खुलामञ्चमा सटर बनाउने दिने मेयर बन्यो ?’ मेयर शाक्यले आक्रोस पोख्नुभयो ।
आफुले गर्न खोजेका हरेक कार्यहरुमा उपमेयरले असहयोग गर्ने गरेको र अवरोध गर्दै आएको पनि शाक्यले आरोप लगाउनुभयो ।
म रोकेर बस्दिन, आवश्यक कारवाहिको लागि अगाडी बढ्नेछु
सो अवसरमा सांसद भीमसेनदास प्रधानले व्यक्तिगत वा पार्टिगत सोचबाट माथि उठेर जनप्रतिनिधिले काम गर्नलाई सुझाव दिएका थिए । जनताको हितका लागि व्यक्तिगत आग्रह पूर्वाग्रह बिर्सेर एकअर्कामा समन्वय गर्दै काम गर्न प्रधानले अनुरोध गर्नुभयो ।
सो क्रममा, मेयर शाक्यले खुलामञ्च अतिक्रमण गरेर सटर निर्माण गरिरहेको सम्बन्धमा अनुगमन गरेर आवश्यक कारवाहीको सिफारीस गर्न गत चैत्र २४ गतेको नगरसभामा उपमेयर खड्गीलाई निर्देशन दिएका थिए । तर खड्गीले अनुगमन पनि नगरेको र प्रतिवेदन पनि नदिएको मेयर शाक्यको भनाई छ ।
प्रतिवेदन बुझाउनका लागि भन्दा मेयरको निर्देशन किन मान्ने भन्दै खड्गीले आफुलाई पत्र दिनुपर्ने भनेको शाक्यले जानकारी दिनुभयो ।
‘अब उहाँले पत्र माग्नुभयो, मैले पत्र पनि दिइसकें । हेरौं, उहाँले प्रतिवेदन बुझाउनु भए ठिकै छ’ मेयर शाक्यले भन्नुभयो, नभए म रोकेर बस्दिन, आवश्यक कारवाहिको लागि अगाडी बढ्नेछु ।’
खुला मञ्चलाई खुला राखौं भन्दै त्यहाँ बन्दै गरेका व्यावसायिक सटरहरु भत्काउनुपर्ने मागसहित स्थानीयले बिहिबार खुला मञ्चमै प्रदर्शन गरेका थिए । बिहिबार मेयर शाक्यसँग भेट हुन नसकेकोले आज कामपा कार्यालय बागदरवार पुगेर ज्ञापन पत्र बुझाइएको हो ।
Categorized in राष्ट्रिय