२२ दिनपछि बल्ल रिहा भए पत्रकार महर्जन
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ बैशाख १७, मंगलबार

पत्रकार जितेन्द्र महर्जन २२ दिनपछि बल्ला आज रिहा भएका छन् । २२ दिन हिरासतमा रहेका उनलाई मंगलबार सर्बोच्च अदालतको आदेशपछि रिहा गरिएको हो ।
नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाइ गर्दै मंगलबार दिपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले महर्जनलाई रिहा गर्न आदेश दिएको हो ।
रिहा भए लगत्तै विभिन्न संघ संगठनले महर्जनलाई संयुक्त रुपमा सम्मान गरेको छ । क्रान्तिकारी पत्रकार संगठन नेपाल ,नेवाः पत्रकार राष्ट्रिय दबूले महर्जनलाई सम्मान गरेको हो ।
क्रान्तिकारी संगठनका उपाध्यक्ष जन्मदेव जैसी, महासचिव बाबुराम भुसाल, नेवाः राष्ट्रिय पत्रकार दवूका केन्द्रीय उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासचिव सुनिल महर्जन, रेडियो मिर्मिरेका प्रबन्धक खम्बु चन्द लगायतको उपस्थितीमा महर्जनलाई सम्मान गरिएको हो ।
काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा इमानदार मिडियाका अध्यक्ष कमल बुढा, संवाद डबलीका सचिव धनन्जय बुढालगायतको पनि उपस्थिती थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले महर्जनको रिहाइका लागि पहल र सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
प्रहरीले महर्जनलाई चैत्र २६ गते समाचार संकलनका क्रममा काठमाडौंको रामशाहपथस्थित नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालय परिसरबाटै गिरफ्तार गरेको थियो । त्यसपछि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट दायर गरेका थिए ।
रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले बैशाख ८ महर्जनलाई रिहा गर्न आदेश दियो । अदालतको आदेशलपछि रिहा भएका महर्जनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पुनः गिरफ्तार गरेको थियो ।
सर्वोच्च अदालतको आदेश अवज्ञा गरी महर्जनलाई हिरासतमा राखिएको भन्दै नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, नेवाः पत्रकार राष्ट्रिय दबू लगायत प्रेस तथा मानवअधिकारसँग सम्बन्धित संघ संगठनहरुले बिरोध जनाएका थिए । सोही क्रममा पत्रकार जितेन्द्र महर्जनको रिहाईको माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले गत विहीबार राजधानीको माईतीघर मण्डलामा धर्ना पनि दिएको थियो ।
महर्जनको रिहाइको लागि पत्रकार महासंघले देशव्यापी दवावमूलक कार्यक्रमको घोषणा गरेको थियो । सोही क्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा महासंघले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रेसमाथिको हस्तक्षेप बन्द गर्न माग गरेका थिए ।
किर्तिपुरबाट प्रकाशन हुने नेपालभाषाको साप्ताहिक पत्रिका न्हूगु ज्वजलपा वाःपौका सम्पादक महर्जन नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं शाखाका सदस्य समेत हुनुहुन्छ ।
Categorized in राष्ट्रिय