‘लोकतान्त्रिक सरकार नै प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्दै’
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ बैशाख १९, बिहिबार

लोकतान्त्रिक सरकार नै विभिन्न बहानामा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागिपरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा प्रेस सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले विचार र आस्थाकै आधारमा राज्यले पत्रकारलाई धरपकड गरेको भन्दै सो कार्य रोक्न माग गरे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संस्थागत सचिव जगत दोङले लेखेकै भरमा पत्रकारलाई धरपकड गर्दै वर्तमान सरकार तानाशाही प्रवृत्तीले अगाडी बढेको आरोप लगाउनुभयो । कृष्ण सेन इच्छुकदेखि वर्तमान समयसम्म पनि राज्यले आस्था र विचारकै आधारमा पत्रकारलाई मानसिक यातना दिँदै आएको सचिव दोङको भनाई थियो ।
स्वयम् प्रधानमन्त्रीले समेत् एक औपचारिक कार्यक्रममा देशमा लोकतन्त्र स्थापना गर्न प्रेस जगतले पुर्याएको योगदान विर्सनुभएको बताउनुभयो । ‘पत्रकार भाईबहिनीहरु भन्दै सम्वोधन गर्नुभयो र प्रजातन्त्र पुनस्र्थापनामा राजनैतीक दलहरुको योगदानको खुब चर्चा गर्दै प्रेसको योगदानको एक शब्द पनि बोल्नुभएन’ दोङले भन्नुभयो, ‘यसले पुष्टि गर्छ कि राज्य प्रेस क्षेत्रप्रति कत्तिको उत्तरदायी वा जिम्मेवार छ ।’
किर्तिपुरका पत्रकार जितेन्द्र महर्जनको सम्मान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले देशमा भएका विभिन्न राजनैतीक परिवर्तनमा किर्तिपुरको नेवार समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
बालुवाटारको ललिता निवास प्रकरणतर्फ इङ्गित गर्दै जैसीले भन्नुभयो, ‘राज्यले न त सरकारी जग्गा नै बाँकि राख्यो न त प्रेस स्वतन्त्रता नै सुनिश्चित गर्न सक्यो ।’ पत्रकारले निर्वाध काम गर्न पाउने वातावरणको विकास गर्न जैसीले जोडदार माग गर्नुभयो ।
हाँसो पनि उठ्यो, म त कुनै ठुलै नेता पो परें कि के भनेर सोच्दै ।’
२२ दिन हिरासतमा परेर गत वैसाख १७ गते रिहा भएका पत्रकार जितेन्द्र महर्जनले आफु सदस्य नै नभएको पार्टिमा पोलिटब्यूरो सदस्य भन्दै आफुलाई विना कारण गिरफ्तार गरेको बताउनुभयो ।
चैत्र २६ गतेका दिन समाचार संकलन गरेर फर्कने क्रममा नेपाल बार एशोसिएसनको गेटबाट आफुलाई पक्राउ गरेर किर्तिपुर वडा नम्बर ३ बाट पक्राउ गरेको भनी रिपोर्टिङ गरिएको जानकारी दिँदै आफुलाई नियोजित ढङ्गले पक्राउ गरिएको दावी गर्नुभयो ।
गत वैसाख ८ गते सर्वोच्च अदालतले रिहा गर्न आदेश दिइसकेर पनि अदालत परिसरबाटै पुनः पक्राउ गरेको क्षण सम्झँदै पत्रकार महर्जनले भन्नुभयो, ‘म अदालत परिसरबाट निस्किँदै गर्दा त्यहाँ सादा पोशाकमा ८ जना प्रहरिहरु थिए, वर्दीमै टन्न प्रहरिहरु आई अदालत परिसर नै घेरिसकेका थिए’ महर्जनले थप्नुभयो, ‘मलाई गिरफ्तार गर्न त्यत्रो संख्यामा प्रहरी आएको देख्दा हाँसो पनि उठ्यो, म त कुनै ठुलै नेता पो परें कि के भनेर सोच्दै ।’
नेवाः पत्रकार राष्ट्रिय दबूबाट आयोजित कार्यक्रममा किर्तिपुरबाट प्रकाशित हुने न्हूगु ज्वजलपा वाःपौका सम्पादक जितेन्द्र महर्जनलाई सम्मान गरिएको थियो । महर्जनलाई विचार र अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्षरत प्रेस स्वतन्त्रताका सेनानी भन्दै सम्मान गरिएको हो ।
कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जन, उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संस्थागत सचिव जगत दोङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी लगायतले पत्रकार महर्जनलाई खादा ओढाई सम्मान गर्नुभएको थियो ।
