‘जनताको अंकुशमा नबस्ने नेता निरंकुश बन्छ’
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ जेठ ९, बिहिबार

समाजवादी पार्टी नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा सुशासन कायम हुनका लागि राजनैतीक नेताहरु जनताको अंकुशमा बस्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सह अध्यक्ष श्रेष्ठले जनताको अंकुशमा नबस्ने नेता निरंकुश बन्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा श्रेष्ठले अहिले नेकपाले देशको हरेक क्षेत्रमा अंकुश लगाउन खोज्दा सबैतिर असन्तुष्टि बढ्दै गएको दावी गर्नुभयो । मिडिया काउन्सिल विधयेक, स्वास्थ्य विधेयक लगायत विभिन्न विधेयकहरु ल्याउँदै नेकपाले हरेक क्षेत्रलाई नियन्त्रण गर्न खोजिरहेको बताउनुभयो ।
नेकपाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनैवटा अङ्गलाई आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाएको दावी पनि श्रेष्ठको रहेको थियो ।
‘नेकपा एकल जातीय, नश्लिय पार्टीको रुपमा बढिरहेको छ । यस्तो अवस्थाले जनतामा असन्तुष्टिको साथमा विद्रोह पैदा हुनसक्छ । देशमा समान हक र अधिकारको लागि समाजवादी पार्टीले बहुजातीय, बहुभाषिक, बहुराष्ट्रियता सुहाउँदो समुन्नत समाजवादको पक्षमा आवाज उठाइरहनेछ’ श्रेष्ठले बताउनुभयो ।
देशमा संघीयताको नाममा राज्यको संरचना अथवा शासकिय स्वरुपमात्र नभई शक्ति बाँडफाँड हुनुपर्ने श्रेष्ठको भनाई थियो । हरेक राज्यलाई अधिकार सम्पन्न बनाए मात्रै संघीयता बलियो हुने उहाँले बताउनुभयो ।
‘संघीयता भनेर हामीलाई केन्द्रले नियन्त्रण गर्ने प्रदेशहरु अथवा केन्द्रीय सरकार अन्तर्गत चल्ने प्रदेश सरकारहरुको आवश्यकता होइन, हाम्रो आवश्यकता भनेको स्थानीय जनता, भाषा, कला, संस्कृति, सम्पदाको उत्थानको लागि क्रियाशील रहने अधिकार सम्पन्न राज्य हो’ श्रेष्ठको विचार रहेका छ ।
आफ्नो पार्टी सरकारमा रहेपनि यस किसिमका गतिविधिको विरोधमा रहेको बताउँदै सह अध्यक्ष श्रेष्ठले पहिचानसहितको संघीयताको पक्षमा आवाज उठाइरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजवादी पार्टीको प्रमुख उद्देश्य भनेको संविधान संशोधन रहेको र त्यसैको लागि सरकारमा सामेल भएको बताउँदै संविधान संशोधनमा पहल नभए सरकारबाट बाहिरिने श्रेष्ठको भनाई रहेको छ ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकिकरणपछिको अवस्था सम्बन्धमा समाजवादी पार्टी नेपाल, काठमाडौं शाखाले काठमाडौंमा पत्रकार भेटघाट र सह अध्यक्ष श्रेष्ठसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
Categorized in राष्ट्रिय