arin enterprises

एक्टिङ प्रतियोगीतामा सिम्रिक भइन् प्रथम

SamacharDesk – बिराज | २०७८ भाद्र ६, आइतबार

न प्रमुख अतिथि, न त कार्यक्रम संचालक, अचम्मको, थियो कार्यक्रमको प्रस्तुति । सबैलाई लाग्ला, कार्यक्रम संचालक नै नभइकन कार्यक्रम कसरी संचालन होला त ? तर शनिबार एउटा कार्यक्रममा यस्तै भयो । बिलकुलै फरक, नयाँ ढङ्गको प्रस्तुति ।

सन्दर्भ हो सुखावति मल्टि प्रोडक्सनले आयोजना गरेको अभिनय प्रतियोगीता ‘जि नं एक्टिङ याये सः’ को विजेता घाेषणा कार्यक्रमकाे ।

शुरुमा सुखावतिका एक सदस्य रुमण जोशी मञ्चमा आए । जोशीले सबैलाई स्वागत गर्दै समाजमा हरेकले जीवनको विभिन्न मोडमा अभिनय गरिरहेकै हुने र हरेकमा अभिनयको खुबी हुने बताउँदै आफुभित्र लुकेको अभिनय प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगीताको आयोजना गरेको बताए ।

उनले सुखावतिका अध्यक्ष सुरेन्द्र तुलाधरलाई मञ्चमा आमन्त्रण गरे । तुलाधरले आफ्नो कुरा राख्ने क्रममा जीवनको हर समयलाई रचनात्मक बनाउनुपर्छ भन्दै लकडाउनको समयमा प्रतियोगीताको आयोजना गरेको बताए ।

तुलाधरले मञ्चमा प्रतियोगीता संयोजक भोगेन्द्र मानन्धरलाई बोलाए । मानन्धरले निर्णायक र विजेता छनौट प्रक्रियाको बारे जानकारी दिए । विषयवस्तु, अभिनय क्षमता, प्रस्तुति, संवाद र हाउभाउ गरी पाँच पक्षलाई हेरेर विजेता छनौट गरिएको मानन्धरले जानकारी दिनुभयो ।

प्रतियोगीताको निर्णायक मण्डलमा भने वरिष्ठ निर्देशक र कलाकार रामकृष्ण खड्गी, वरिष्ठ निर्देशक आर्यम नकर्मी र कलाकार हिसिला महर्जन रहेका थिए ।

निर्णायकको तर्फबाट आफ्नो कुरा राख्दै निर्देशक कलाकार खड्गीले प्रतियोगीतामा निर्णायकको भूमिका निकै चुनौतीपूर्ण रहने भन्दै जित हात नपरे निराश नभई निरन्तर अघि बढिरहनुपर्नेमा जोड दिनुभयो ।

ककसले कुन कुन पुरस्कार हात पारे त ?

प्रतियोगीतामा विजेता भने एक बाल कलाकार बनेकी छन् । बाल कलाकार सिम्रिक श्रेष्ठले प्रतियोगीतामा सहभागी अन्य ३८ प्रतियोगीलाई पछि पार्दै पहिलो स्थान हासिल गरिन् ।

त्यस्तै सविन रत्न शाक्य र सनम शाक्यको समूह दोश्रो भए भने विधान तुलाधर र मोहिनी तुलाधरको समूहले तेश्रो स्थान हासिल गर्न सफल भए ।

त्यस्तै सबभन्दा कम उमेरकी प्रतियोगीतको रुपमा ८ वर्षीया सजगता मानन्धर र सबभन्दा ज्येष्ठ प्रतियोगीको रुपमा ६० वर्षीया मीना प्रधानलाई सान्त्वना पुरस्कार दिइएको थियो ।

उत्कृष्ट पुरुष कलाकार अमु श्रेष्ठ र उत्कृष्ट महिला कलाकारको पुरस्कार कृष्णशोभा उलकको पोल्टामा पर्यो ।

विजयी प्रतियोगीहरुलाई ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्य, चलचित्र निर्माता गोपालकाजी कायस्थ, पोर्चुगलका गंगाबहादुर नेमकुल, राष्ट्रिय नेवाः खलः इजरायलका नरेश नेपाः, जापानका उत्तम प्रधान, निर्णायक रामकृष्ण खड्गी, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरलगायतले पुरस्कार प्रदान गरेका थिए ।

एक्टिङकाे नेपालभाषा शब्द 'प्याखं पहः'

पुरस्कार वितरण पछिको कार्यक्रम भने प्रतियोगीतामा प्रथम हुन सफल सिम्रिक श्रेष्ठको प्रमुख आतिथ्यमा संचालन भएको थियो । पुरस्कार वितरण पछिका कार्यक्रमलाई औपचारिकता दिँदै प्रमुख अतिथि श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटनसमेत गरिन् ।

उनले कार्यक्रममा आर्थिक सहयोग गर्ने सहयोगी साथमा प्रतियोगीताका अफिसियल मिडिया पार्टनरहरुलाई प्रमाण पत्र पनि प्रदान गरिन् ।

कार्यक्रममा सिम्रिक श्रेष्ठले अभिनय अथवा एक्टिङ शब्दको नेपालभाषा शब्द पनि घोषणा गरेकि थिइन् । एक्टिङलाई नेपालभाषामा अब उप्रान्त ‘प्याखं पहः’ शब्द प्रयोग गर्ने घोषणा गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ सिने पत्रकार तुलाधर, ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष साथै रचनाकार निर्मलरत्न शाक्यले आ–आफ्नो मन्तव्य राखेका थिए ।

Categorized in पेजथ्री