नेवाः लक्ष्मीकान्त प्यारेलाल फेरी सँगै उभिने
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ जेठ २१, मंगलबार

स्वयम्भुराज र चन्द्रमान । कुनै समयमा यिनको जोडिलाई लक्ष्मीकान्त प्यारेलाल नै भन्ने गरिन्थ्यो । नेवाः संगीत क्षेत्रमा यो जोडि भन्यो कि त हुरुक्कै हुनेहरुको संख्या थुप्रो थिए । विशेष गरेर ललितपुरमा हुने सांगितीक कार्यक्रममा स्वयम्भुराज चन्द्रमान सँगै उभिएको हेर्न पाइएन भने कार्यक्रम अधुरै जस्तो हुन्थ्यो । दर्शकलाई खल्लो लाग्ने गथ्र्यो स्वयम्भुराज र चन्द्रमान विनाको कार्यक्रम ।
नेवाः संगीत क्षेत्रलाई थुप्रै राम्रा, स्तरीय गीतहरु दिएका छन् यो जोडिले । वयाला छ थन, जात्राया हुलय् लगायतका करीब ३ दशक पुराना यी गीतहरु आजसम्म पनि लोकप्रिय नै छन् । तर नेवाः लक्ष्मीकान्त प्यारेलालका फ्यानहरुले धेरै भयो यो जोडिलाई फेरी एकपटक सँगै हेर्ने चाहना गरेको । करीब २५ वर्ष भयो स्वयम्भुराज र चन्द्रमानको जोडि सँगै नउभिएको ।
स्वयम्भुराज चन्द्रमानका फ्यानहरुका लागि अब भने खुसीको खबर आएको छ । २५ वर्षपछि यो जोडि फेरी एक पटक सांगितिक डबलीमा सँगै उभिएर गीत गाउने भएका छन् । आउँदो ज्येष्ठ २५ गते शनिबारका दिन हःखा कोत लतिलपुरमा आयोजना हुन गइरहेको स्वयम्भुराज शाक्यको एकल साँझमा फेरी एकपटक गायक चन्द्रमान शाक्य र स्वयम्भुराज शाक्यको जोडिले प्रस्तुति दिने भएका छन् ।
करीब २५ वर्ष पछि फेरी एक पटक आफ्नो पुरानो साथीसँग कार्यक्रममा गीत गाउन पाइने भएपछि स्वयम्भुराज पनि उत्तिकै उत्साहित छन् । आफ्नै एकल साँझको बारे जानकारी दिन ललितपुरमा आयोजना भएको पत्रकार सम्मेलनमा गायक शाक्यले भन्नुभयो, ‘मलाई निकै खुसी लागिरहेको छ । चन्द्रमान मेरो वाल्यकालदेखिको साथी हो, हामीले धेरै कार्यक्रमहरुमा सँगै गीत गायौं, सँगसँगै हिँड्यौं । चन्द्रमानले स्कूल चलाउन थालेपछि उ व्यस्त भयो र संगीत क्षेत्रबाट टाढियो । अहिले २५ वर्षपछि हामी फेरी सँगै उभिँदैछौं, निकै खुसी लागिरहेको छ ।’
आउँदो शनिबार ज्येष्ठ २५ गते गायक स्वयम्भुराज शाक्यको चौथो एकल साँझ कार्यक्रम ‘ओ प्रिय लिफः स्वयाः, वरिष्ठ गायक स्वयम्भुराज शाक्य, सांगितिक साँझ’ हुन गइरहेको छ । मंगल इन्टरटेनमेन्टले आयोजना गर्न लागेको उक्त कार्यक्रम गायक स्वयम्भुराजकै टोल हःखाः ललितपुरमा हुन गइरहेको हो ।
कार्यक्रमलाई गायक सपनाश्रीसँग स्वयम्भुराजले गाउनुभएको लोकप्रिय नेपालभाषाको गीतबाट ‘ओ प्रिय लिफः स्वयाः, वरिष्ठ गायक स्वयम्भूराज शाक्य सांगितिक साँझ’ नाम दिइएको हो ।
कार्यक्रममा स्वयम्भूराजलाई नीशा देसार, सुमन कपाली, अनु शाक्य, प्रियंका शाक्य लगायतले साथ दिन लागेका छन् भने नेवाः लक्ष्मीकान्त प्यारेलालको फ्यानहरुका लागि भने स्वयम्भुराज र चन्द्रमानको जोडिको प्रस्तुति विशेष आकर्षण हुनेछ ।
हालसम्म गायक स्वयम्भुराजको ५ वटा एकल एलबम प्रकाशन भइसकेको छ भने ३ वटा एकल सांगितक कार्यक्रम पनि आयोजना भइसकेको छ ।
Categorized in पेजथ्री