arin enterprises

अपाङ्गता भएका कलाकारलाई ललितपुर महानगरले सहयोग गर्ने

SamacharDesk – बिराज | २०७८ आश्विन १७, आइतबार

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शारीरिक अपाङ्गता भएका कलाकारहरुको सहयोगको लागि योजना लिएर आउन नृत्य निर्देशकहरुलाई आह्वान गर्नुभएको छ ।

नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालको ललितपुर शाखाले आयोजना गरेको ‘बडा दशैं, तिहार, नेपाल सम्वत नयाँ वर्ष ११४२ र छठ पर्वको शुभकामना आदान प्रदान तथा बधाई’ कार्यक्रममा महानगर प्रमुख महर्जनले यस्तो भन्नुभएको हो ।

एउटा मात्र खुट्टा भएकी नृत्य कलाकार सीता सुवेदीको नृत्य हेरिसकेर महर्जनले भन्नुभयो ‘योजना बनाएर मकहाँ आउनुस्, म तपाईँहरुलाई सक्दो सहयोग गर्नेछु । लिखित रुपमै योजनाको प्रस्ताव भएमा शारिरीक अपाङ्गता भएका कलाकारहरुलाई आवश्यक सहयोग गर्न हामीलाई सजिलो हुनेछ ।’

कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरदकुमार महर्जन, ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मल रत्न शाक्य, वडा ८ का वडाध्यक्ष हेम महर्जन र नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले शुभकामना सहित आआफ्ना कुरा राखेका थिए ।

त्यसैगरी संघका केन्द्रीय उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले ‘ख्येँय् सगं’ अर्थात् अण्डा सगुन र पञ्चतत्वको सम्वन्धमा प्रकाश पारेका थिए ।

सोही कार्यक्रममा संघको काठमाडौं, भक्तपुर र काभ्रे शाखाको नयाँ कार्य समिति र ललितपुर १६ वडामा कलाकारहरुको लागि भन्दै गठन गरिएको साँस्कृतिक समितिमा संयोजक नियुक्त भएकासु रजबीर बज्राचार्यलाई सगुनसहित बधाई दिइएको थियो ।

नृत्य कलाकारहरुको रमाईलो प्रस्तुतिले कार्यक्रममा भव्यतालाई थपेको थियो । 

Categorized in पेजथ्री