arin enterprises

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फेब्रुअरीमा हुने

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ जेठ ३१, शुक्रबार

तेश्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा सहभागीतको लागि चलचित्रकर्मीहरुलाई आव्हान गरिएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यहि २०२० फेब्रुअरी १३ देखि १७ सम्म काठमाडौंमा महोत्सवको आयोजना हुने बताउँदै चलचित्रकर्मीहरुलाई सहभागीताको लागि आव्हान गरेको हो । 

चलचित्र महोत्सवमा सहभागिता जनाउन इच्छुक फिल्मकर्मीहरुले २०१९ जुन १५ देखि अक्टोबर ३० सम्ममा आवेदन दिन सकिने प्रतिष्ठानले जनाएको छ । 

‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलको तेश्रो संस्करण आयोजना हुन लागेको हो । 

यो वर्ष महोत्सवमा एनिमेसन र बृत्तचित्रको विधा पनि थपिएको छ । यस वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय फिचर र डकुमेन्ट्री फिल्मसँगै एनिमेटेड र डकुमेन्ट्री फिल्मलाई पनि समावेश गरिएको हो ।

महोत्सवमा उत्कृष्ट हुने चलचित्रहरुलाई राशी पुरस्कार सहित पुरस्कृत गरिने पनि जनाइएको छ । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वाेत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतम बुद्ध अवार्ड, सर्बोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अर्वाड, सर्बोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलर राशीको मञ्जुश्री अवार्ड, सर्बोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशीको बागमती अर्वाड प्रदान गरिने भएको हो ।

त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु १ लाख राशीको नगदसहित पुरस्कार, उत्कृष्ट सर्ट फिल्मलाई नगद रु ५० हजार सहित पुरस्कार र सर्ट मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई टफि प्रदान गरिने छ भने फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई ट्रफि प्रदान गरिने भएको छ ।

साथै अगस्ट २१ देखि २७ सम्म प्रतिष्ठानले पटकथा लेखन कार्यशाला सञ्चालन गर्ने पनि जनाएको छ । कार्यशालामा सहभागिताको लागि जुन १५ वाट आवेदन खुल्ला गरिनेत । एक हप्ते कार्यशालामा ४० जना मात्र सहभागी गराइने प्रतिष्ठानले जानकारी दिएको छ ।

Categorized in पेजथ्री