‘विधेयक खारेज गर्ने माग अत्ति भयो’
SamacharDesk – सोसियल ब्यूरो | २०७६ जेठ ३२, शनिबार

पूर्व प्रधानमन्त्री साथै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले गुथि विधेयक विरोधी आन्दोलनमा विधेयक खारेजीकै माग अत्ति भएको बताउनुभएको छ । विधेयकमा भएका गलत बुँदाहरुलाई संशोधन गर्न सकिनेमा विधेयक खारेज नै गर्नुपर्छ भन्नु नहुने पूर्व प्रधानमन्त्री खनालले बताउनुभएको छ ।
नेवाः देय् दबू १५ वडा समितिले गुथि विधेयक खारेज गर्न माग सहित बुझाएको ज्ञापन पत्र बुझ्दै खनालले नेवाः समुदायभित्रका ससाना गुथिहरु संरक्षण गर्नुपर्ने अवस्था रहेपनि ठुलठुला हजारौं विघा जग्गाजमिन सहितका कैयन गुथिहरुलाई नियन्त्रण गरिनुपर्नेमा विधेयक आवश्यक रहेको बताउनुभयो ।
सरोकारवाला पक्षहरुसँग बसेर छलफल गरेर मात्र अन्तिम रुप दिनुपर्ने विधेयक उपर पार्टि भित्रै छलफल नभएको बताउँदै खनाले विधेयकमा गलत बुँदाहरु रहेको भने स्वीकार्नुभयो ।
गणतन्त्र नेपालमा आफुलाई चित्त नबुझेका विषयमा शान्तिपूर्ण विरोध गर्न पाउने तर उत्तेजित खालका नारा लगाउन नहुने भन्दै खनालले ‘भूमाफिया मूर्दावाद भनेर कसलाई भनेको’ भनेर प्रश्न गर्नुभयो ।
समितिले १५ वडाभित्र रहेका सांसदहरुलाई गुथि विधेयक खारेजीको माग सहित ज्ञापन पत्र बुझाएका थिए । सोही क्रममा समितिले सांसद जीवनराम श्रेष्ठलाई पनि ज्ञापन पत्र बुझाएको छ ।
सांसद श्रेष्ठ ज्ञापन पत्र बुझेर लिँदै जसरी हुन्छ जनतालाई आन्दोलनमा होमिन लगाउने र हिलोमा माछा समाए जस्तै आफ्नो स्वार्थ सिद्ध गर्न खोजिरहेको पनि देखिएको बताउनुभयो । सामाजिक हितको सवालमा आफु जनतासँग एकतावद्ध भएर अघि बढ्न तयार रहेको श्रेष्ठको भनाई थियो ।
समितिले १५ वडाध्यक्ष साथै कामपाका प्रवक्ता ईश्वरमान डंगोललाई पनि ज्ञापन पत्र बुझाएको छ । डंगोलले विधेयकमा विशेष गरेर नेवाःहरुको सीगुथि, सनांगुथि लगायतका निजी गुथिहरुमा समस्या भएको जानकारी विधान समितिलाई गराएको जानकारी गराउनुभयो ।
समितिका सचिव अर्विन्द्रमान सिंहको नेतृत्वमा गएको टोलीले १५ वडाको डल्लु क्षेत्रमा र्याली पनि निकालेको थियो । स्वयम्भु भगवानपाउबाट शुरु भएको र्याली डल्लु पुल, धुमाखेल, स्वर्णिम बस्ती, डल्लु आवास हुँदै १५ वडा कार्यालय पुगेर सम्पन्न भएको थियो ।
टोलीमा उपाध्यक्ष रमेश खड्गी, सह सचिव उद्धव खड्गी, सदस्य अमर रंजित, कुमार स्थापित, मीना महर्जन, निर्मला डंगोलको साथै प्रदेश सचिव राजा शाक्य लगायत रहेका थिए ।
