विदेशिएका नेपालीको वाध्यताको कथा, ‘म हिँडे घर’
SamacharDesk – बिराज | २०७८ कार्तिक २, मंगलबार

विदेशीनु कसैको रहर पक्कै पनि नहोला । आफ्नो घर, परिवार, आफ्ना साथीभाईबाट टाढिएर विदेश बस्ने रहर कसलाई पो होला र ?
घर सम्झियो, अहिले नै सबै छोडेर घर हिडिँहालौं जस्तो, घरको जिम्मेवारी र परिस्थिती सम्झिएपछि फेरी वाध्यताले घेरिँदै विदेशको काममै फर्किनुको विकल्प रहन्न ।
यस्तै वाध्यताकाबीच विदेशिनु परेकाहरुको भावनालाई समेट्दै गायक सुदीपले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । विगत ९ वर्षदेखि डेनमार्कमा बस्दै आएका सुमधुर स्वरका धनी गायक सुदीप साय्मले आफ्नो नयाँ गीत ‘म हिँडे घर’ सार्वजनिक गरेका हुन् ।
गीतमा आफ्नो र आफुजस्तै विदेशमा काम गरेर बसेका नेपालीहरुको भावनालाई समेट्न खोजेको गायक सुदीपले बताए ।
‘कुनै बेला विदेश गएर केही गर्छु भन्ने ठुलो रहर, सपना हुन्छ । तर विदेश पुगिसकेपछि कहिले घर फर्केर परिवारसँग आनन्दले बसौं जस्तो हुन्छ तर, आफ्नै वाध्यताले फर्किन मिलिरहेको हुँदैन । यहि बाध्यताको कथा हो मेरो गीत म हिँडे घर’ सुदीपले भने ।
गीतको सम्पूर्ण छायाङ्कन डेनमार्क, कोपनहेगनमा गरिएको छ । गीतमा विदेशमा बसेर काम गर्दाको परिस्थिती र त्यो परिस्थितीबाट दिक्क हुँदै घर फर्किन खोज्ने एक युवाको कथा देखाइएको छ ।
गीतको भिडियोमा सुवास महर्जनको मुख्य भूमिका रहेको छ भने जेस भट्टराई र सुशील घिमिरेको पनि अभिनय रहेको छ ।
छायाङ्कन र दृश्य सम्पादन रतिश तुलाधर र सुशील घिमिरेले गरेका छन् भने निर्देशन रतिश तुलाधर, सुशील घिमिरेको साथमा गायक सुदीप आफैंले पनि गरेका छन् ।
संगीत पनि सुदीप आफ्नै रहेको छ भने गीतको शब्द पनि मन्दी जोशीको साथमा सुदीपले नै लेखेका छन् ।
गीतको अन्तमा एउटा मुक्तकले गीत र भिडियोको भावनालाई अझ प्रष्ट्याउन खोजेको छ । जे. सागरले लेखेको उक्त मुक्तकमा आवाज भने अच्यूत घिमिरेले दिएका छन् ।
Categorized in पेजथ्री