गुथि विधेयकलाई लिएर वालुवाटारमा छलफल
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ आषाढ २, सोमबार

प्रस्तावित गुथि विधेयकलाई फिर्ता नै लिनुको विकल्प नभएको सभासद्हरुले बताएका छन् । सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा केही सभासद्हरुले विधेयकमा संशोधन गर्न सकिने बताए भने केहीले फिर्ता लिनुको विकल्प नभएको बताएका हुन् ।
प्रधानमन्त्र केपी शर्मा ओलीले प्रस्तावित गुथि विधेयकलाई लिएर संघीय साथै प्रदेश ३ का सभासद्हरुसँग सोमबार छलफल गर्नुभएको हो । सो छलफलमा संघीय सभाका सदस्य जीवनराम श्रेष्ठले विधेयक फिर्ता लिनलाई प्रधानमन्त्रीलाई सुझाव दिए ।
अहिले यो विधेयक फिर्ता लिएर सरोकारवालासँग छलफल गर्नलाई मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई सुझाव दिएको छु’ सभासद् श्रेष्ठको भनाई थियो ।
अहिलेको विधेयकले देशैभरिका गुथिहरुलाई एउटै डालोमा राखेर हेरेकोले नै समस्या आएको श्रेष्ठले भन्नुभयो । ‘उपत्यकाका गुथि मात्र जात्रापर्व वा जग्गा जमिनमात्र नभई समाजको जीनव पद्धतीसँग जोडिएको छ । हामीले स्वर्गद्वारी वा जानकी मन्दिरको कुरा गरेका छैनौं । त्यहाँको व्यवस्था त्यहिँको चलन, रिती अनुसार गरियोस् तर हालको विधेयक काठमाडौंका नेवारहरुको गुथिलाई मास्ने खालको भयो ।’
सभासद् महेश वस्नेतले विधेयकलाई लिएर उपत्यकावासीमा भ्रम रहेको बताउनुभयो । विधेयकले यहाँका स्थानीय संस्कृति मास्ने भन्ने धारणा गलत रहेको वस्नेतको भनाई थियो । केही अप्ठ्यारा बुँदाहरुलाई संशोधन गर्न सकिने उहाँले भन्नुभयो ।
त्यसैगरी संघीय सभासद् रामवीर मानन्धरले हालको विधेयक फिर्ता लिनुको विकल्प नभएको बताए । सरोकारवालासँग छलफल विना विधेयक ल्याउनु नै गलत भएको दावी गर्नुभयो ।
समाचारडेस्कसँग कुरा गर्दै सभासद् मानन्धरले अहिले गुथि विधेयकको विरोधमा उपत्यकामा आक्रोश बढिरहेको बेलामा मन्त्री, सांसदहरुले संयमित भएर बोल्नुपर्ने पनि बताए । गुथि प्रथालाई सामन्तवादको संज्ञा दिने संचारमन्त्रीले कि त माफी माग्नुपर्ने या राजीनामा दिनुपर्ने माग मानन्धरले गर्नुभयो ।
छलफलमा बोल्ने अधिकांश सांसदहरुले विधेयक फिर्ता लिनुपर्ने सुझाव दिएका थिए । संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, प्रदेश ३ सांसद अजयक्रान्त्री शाक्य, राजेश शाक्य, वसन्त मानन्धर लगायतले विधेयक फिर्ता लिनुको विकल्प नरहेको भनेका थिए ।
प्रधानमन्त्री ओलीले सबैको सुझावलाई मन्त्रीपरिषदमा लग्ने बताउनु भएको थियो । तर यससँगै गुथिलाई फिर्ता लिनुभन्दा संशोधनमा जान सकिने भन्नुभएको छलफलमा सहभागी एक सांसद्ले जानकारी दिएका छन् । विधेयक फिर्ता नै लिँदा विपक्षीबाट अन्य विधेयक फिर्ता लिन दवाब आउन सक्ने प्रम ओलीको भनाई रहेको थियो ।
यूरोप भ्रमणबाट फर्किए लगत्तै प्रधानमन्त्री ओलीले गुथि सम्बन्धी छलफललाई तीव्र बनाएका छन् । यूरोप भ्रमण सम्पन्न गरी स्वदेश फर्केका ओलीले विमानस्थलमै पनि विधेयक संशोधन गर्न सकिने बताइसकेका छन् ।
Categorized in राष्ट्रिय