विधेयक फिर्ता भएपनि आन्दोलन नरोकिने
SamacharDesk – करुण शर्मा | २०७६ आषाढ ३, मंगलबार

अन्ततः सरकार गुठी विधेयकबाट पछि हट्न वाध्य भएको छ । मंगलबार भूमिसुधार मन्त्री पद्माकुमारी अर्यालले प्रेस वक्तव्य जारी गर्दै विधेयक फिर्ता लिइएको जनाएकि छन् । तर विधेयक विरुद्ध आन्दोलनरत समूहले भने विधेयक खारेज नै हुनुपर्ने माग सहित आन्दोलन नरोकिने बताएको छ ।
मंगलबार काठमाडौंका बाङ्गेमुढामा आयोजित गुथि विधेयक विरुद्धको कोण सभामा बोल्दै आदिवासी जनजाति वकिलहरुको समूह लाहुर्निपका शंकर लिम्बुले जनताको माग विधेयक खारेज नै गर्नुपर्ने रहेकोले आन्दोलन नरोकिने बताउनुभयो ।
अधिवक्ता लिम्बुले काठमाडौंका चेलिबेटी विहे गरेका अहिलेका कम्युनिष्ट नेताहरुले काठमाडौंको जग्गा, सम्पत्तिमात्र देखेको, ससुरालीको संस्कृति, संस्कार केही पनि नदेखेको बताए । संस्कृतिप्रेमी नेवाः समुदायलाई सामन्तवाद भन्दै अपमान गर्ने दुइ तिहाइको सरकार उपनिवेशवादी भएको आरोप पनि लिम्बुको थियो ।
‘उहाँहरुले काठमाडौं उपत्यकामा आएपछि बर्षौंदेखि नेवाःका पितापुर्खाले राखेको भूमि देख्नुभयो, गुठी होइन । त्यहि भूमि देखेको हुनाले उहाँहरुलाई भूमि चोर हो, उपनिवेशवादी हो भनेको मैले’ अधिवक्ता लिम्बुले भन्नुभयो ।
उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष समितिका अध्यक्ष सुमन सायमिले कहिले सडक विस्तारको नाममा त कहिले गुठी विधेयकको नाममा सरकार काठमाडौं उपत्यकाका आदिवासी समुदायलाई विस्थापित गर्न लागिपरेको दावी गरे ।
नेवाः आन्दोलनका अगुवा नरेशबीर शाक्यले स्थानीय संस्कृतिको सम्मान गर्नलाई सरकारलाई सुझाव दिनुभयो । ‘हामीले तपाईंहरुलाई बस्नलाई ठाउँ दियौं, खान दियौं, भत्ता दियौं, तलब दियौं’ शाक्यको भनाई थियो । ‘यतिमात्र होइन, हाम्रो छोरी पनि दियौं । हाम्रो छोरीसँग यहाँको संस्कृति पनि दिएका छौं । के त्यो संस्कृतिको सम्मान तपाईँहरुले नगर्ने ?’
आजै राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले मशाल जुलुस पनि निकालेको थियो । काठमाडौं नःघल स्वां छपु गणेशस्थानबाट निकालिएका मशाल जुलुस नःघल, झ्वाःबहाः, त्यौड, असन, बालकुमारी, ईन्द्रचोक, भेडासिं, बाङ्गेमुढा हुँदै क्षेत्रपाटी पुगेर सम्पन्न भएको थियो ।
कार्यक्रमका वक्ताहरुले भोलि बुधबार ११ बजे माईतीघर मण्डलामा भेला हुन आम जन समुदायलाई आव्हान गर्नुभयो ।
जुलुसमा ‘हाम्रो आन्दोलन जारी छ, गुठी विधेयक खारेज गर, सम्पदा मास्न पाईंदैन’ लगायतका नाराबाजी भएको थियो ।
Categorized in राष्ट्रिय