महानगरबाट दाफा गुरुहरुको सम्मान
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ पौष ९, शुक्रबार

काठमाडौँ महानगरले ४५ जना दाफा गुरुहरुलाई सम्मान गरेको छ । २७ औँ महानगर दिवस ०७८ को अवसरमा आज खुसिबुँमा भएको कार्यक्रममा गुरुहरुलाई मेयर विद्यासुन्दर शाक्यले सम्मान गर्नुभएको हो ।
सम्मान कार्यक्रममा बोल्दै मेयर शाक्यले वर्तमान कुमारी, गणेश र भैरवको साथमा पूर्व कुमारी, गणेश र भैरवको समेत मासिक भत्ता बढाएको जानकारी दिनुभयो ।
‘परम्परा, संस्कार संस्कृतिको निरन्तरताका लागि पूरा समय दिनुहुनेहरुका लागि भत्ताको व्यवस्था गरेका हौँ । यसबाट परम्परागत बाजागाजाको संरक्षण र प्रशिक्षणकाे साथै जात्रा,पर्व, संस्कार संस्कृतिको निरन्तरतामा प्रोत्साहन हुनेछ’ शाक्यले भन्नुभयो ।
कार्यक्रममा कामपा १८ वडाका अध्यक्ष साथै सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले महानगरको परम्परागत चिनारीलाई यथावत राख्न बाजा गुरुहरुको सीप र कलालाई पुस्तान्तरण गर्नुपर्ने र आफुहरु यसका लागि प्रयासरत रहेको बताउनुभयो ।
सम्मान ग्रहण गर्दै गुरुहरु ज्योती शाक्य र राजभाइ ज्यापुले महानगरबाट प्राप्त भएको सहयोगले परम्परागत बाजा संरक्षण, वादन प्रशिक्षणका कार्यक्रम बढ्दै गएको धारणा राख्नुभयो ।
महानगरको लगानीबाट परम्परालाई पुस्तान्तरण गर्न सहज भएको महसुस आफुहरुलाई भएको दाफा गुरुहरुको भनाइ थियो ।
काठमाडौँका हरेक जात्रा, पर्व र संस्कार बाद्यवादन तथा गायनसँग सम्बन्धित हुन्छन् । यसरी बजाइने बाजा र गाइने गीत सम्बन्धी आफ्नै नियम हुन्छन् ।
Categorized in स्थानीय