गुठी विधेयक खारेजीको मागमा चारैतिर विरोधका कार्यक्रम
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ आषाढ ८, आइतबार

गुठी विधेयक फिर्ता मात्र होइन, खारेज नै हुनुपर्ने मागसहित चारैतिरबाट विरोधका कार्यक्रमहरु घोषणा हुन थालेका छन् । यसैक्रममा आन्दोलनरत पक्षले भोलि विकेन्द्रित रुपमा जुलुस सहित खबरदारी सभा गर्न लागेको छ ।
भोलि उपत्यकाका विभिन्न ठाउँबाट खबरदारी जुलुस निकालिनेछ । काठमाडौंमा अपरान्ह ४ बजे वसन्तुपर, दमकल अगाडीबाट खवरदारी जुलुस निकालिन लागेको छ ।
दमकल अगाडीबाट शुरु गरिने खवरदारी जुलुस काठमाडौंको विभिन्न भागको परिक्रमा गरेर वसन्तपुरमै पुगी सभामा परिणत हुनेछ । जुद्ध शालिक हुँदै जुलुस न्युरोड गेटबाट वीर अस्पताल, रत्नपार्कबाट भद्रकाली हुँदै सुन्धारा खिचा पोखरी भएर बसन्तपुरस्थित महादेव पार्वती मन्दिरमा पुगी खवरदारी सभामा परिणत हुने राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका प्रचार विभाग प्रमुख राजाराम तण्डुकारले जानकारी दिनुभयो ।
त्यसैगरी ४ः३० बजे ललितपुरमा मंगलबजारबाट जुलुस निकालिनेछ । किर्तिपुरमा भने साँझ ६ः३० बजे प्रजा डबली, बाघभैरवमा सभा गरिने लागेको छ ।
सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरेपनि आन्दोलनरत पक्षले विधेयक फिर्ता नभई खारेज नै गर्नुपर्ने भन्दै आन्दोलनलाई निरन्तरता दिँदै आएको छ ।
आन्दोलनरत पक्षले हिजो शनिबार ब्ल्याक आउट गरेको थियो । ब्ल्याक आउटको क्रममा साँझ ७ः३० बजे काठमाडौंको भित्री वस्तीका अधिकांश भाग अँध्यारो भएको थियो ।
साथै गुठी विधेयक खारेजीको मागमा अन्य कार्यक्रमहरु पनि घोषणा गरिएको छ । आउँदो असार १४ गते खबरदारी मोटरसाइकल र्याली निकालिन लागेको छ ।
असार २० गते विभिन्न आदिवासी जनजाति, मधेसी दलित, थारु र अन्य पिछडिएको वर्ग सहित खस आर्य समुदायबाट समेत ऐक्यवद्धता जनाइने ऐक्यवद्धता सभा आयोजना गरिन लागेको छ ।
Categorized in राष्ट्रिय