गुठी विधेयक विरुद्ध विभिन्न स्थानमा सभा र जुलुस
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ आषाढ ९, सोमबार

गुठी विधेयक खारेजीको मागमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जुलुस सहित सभाहरु भएका छन् । गुठी विधेयक विरुद्ध संघर्षरत ‘राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति’ले विभिन्न स्थानमा खवरदारी जुलुस र सभाको आयोजना गर्यो ।
काठमाडौंमा वसन्तपुरबाट खवरदारी जुलुस निकालियो । जुलुसमा साँस्कृतिक बाजागाजा सहित विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत सयौंको संख्यामा सहभागिता थियो ।
वसन्तपुर दमकल अगाडीबाट नाराबाजी सहित शुरु भएको जुलुस न्यूरोड, रत्नपार्क हुँदै वसपार्क, भद्रकाली, सुन्धारा, खिचापोखरी, ओमबहाल, यंगाल, चिकंमुगल, मरु हुँदै वसन्तपुरस्थित महादेव पार्वती मन्दिर पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सामाजिक अभियन्ताहरुले सम्वोधन गरेका थिए । नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले नेवारहरु नीति निर्माण तहसम्म नपुगेकै कारणले विभिन्न कालखण्डमा विभिन्न समस्या भोग्दै आउनुपरेको बताउनुभयो ।
२०६५ सालमा गुठी संस्थानको औचित्य अध्ययन गर्न गठीत उच्चस्तरीय अध्ययन समितिका अध्यक्ष पवित्र बज्राचार्यले यो आन्दोलन आजको नभई, २०३३ सालमा गुठी संस्थान गठन गरिएको समयदेखिकै भएको दावी गर्नुभयो ।
२०६५ सालको आन्दोलनपछि आफ्नो अध्यक्षतामा गठित समितिको अध्ययनले गुठी संस्थानको वदमासी र कर्तुतको अध्ययन प्रतिवेदन तत्कालीन सरकारलाई बुझाएको र सो प्रतिवेदनले गुठी संस्थान खारेज गर्नुपर्ने सुझाव दिएको स्मरण बज्राचार्यले गर्नुभयो ।
ललितपुरमा पनि विशाल प्रदर्शन
गुठी विधेयक खारेजीको मागमा ललितपुरमा पनि विशाल प्रदर्शन गरिएको थियो । मंगलबजारबाट नाराबाजी सहित निस्केको जुलुस ललितपुरको विभिन्न भागको परिक्रमा गरी मंगलबजारमै पुगेर सभामा परिणत भएको थियो ।
मंगलबजारबाट शुरु भएको जुलुस तंगलबाट लगनखेल, तःपुखू, जाउलाखेलबाट पूल्चोक हुँदै गाःबहाल, महापालबाट मंगलबजारमै पुगेर खवरदारी सभामा परिणत भएको थियो ।
मंगलबजारमा भएको सभालाई विभिन्न जातीय संघ संगठनका प्रतिनिधि साथै अभियन्ताहरुले सम्वोधन गरेका थिए ।
सभामा बोल्दै ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले विधेयक फिर्ताको नाममा सरकारले जनतालाई झुक्याउन खोजेको आरोप लगाउनुभयो । आफ्नो हक अधिकारको लागि संघर्षमा उत्रनको लागी ताम्रकारले सबैलाई आव्हान गर्नुभयो ।
ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले सरकारले अनावश्यक रुपमा नेवाः समुदायको संस्कृतिमा हस्तक्षेप गरेको आरोप दिँदै अब सरकारले यसको मूल्य चुकाउनुपर्ने दावी गर्नुभयो ।
सभालाई वौद्ध विहारका सुरेन्द्र बज्राचार्य, वाराही समाजका पुष्प वाराही, राजकर्णिकार समाजका पुष्पराज राजकर्णिकारले नेवाः अधिकारको लागि नेवाः समाज नै सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
