arin enterprises

डा. रिजालले ‘ह्यारीकि प्यारी’ बनाउने

SamacharDesk – विजयरत्न | २०७८ माघ १२, बुधबार

नेपालको पहिलो गीति चलचित्र ‘गौंथली’ लगायत एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशकपछि पुनः अर्को एउटा फिल्म लिएर आउँदैछन् ।

डा. रिजाल ‘ह्यारीकि प्यारी’ नामक रोमान्टीक कमेडी फिल्मबाट पूनः फिल्म निर्माणको क्षेत्रमा फर्किएका हुन् ।

डा. रिजालको बिआर प्रडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रको पर्वतको भुक देउरालीमा मुहुर्त गरी सुटिङ शुरु गरिएको छ । सुटिङ शुरु गर्नुअघि चर्चित हास्य कलाकार जितु नेपाल र विजय बरालले मुहुर्त सट दिएका थिए ।

चलचित्रको निर्देशन ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ डा. भोला रिजालका दन्त चिकित्सक पुत्र डा. कपिल रिजालले गर्दैछन् ।

लण्डनको दन्त चिकित्सा क्षेत्रमा अढाई दशकदेखि लोकप्रियता कमाउँदै आएका डा. कपिलले लण्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरु गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका छन् ।

साथमा उनले नेपाल र लण्डनमा गरी एक दर्जन म्युजिक भिडियोहरु पनि निर्देशन गरिसकेका छन् । फिचर फिल्म भने यो उनको पहिलो फिल्म हुने भएको छ ।

निर्देशक डा. रिजालका अनुसार पर्वतका विभिन्न स्थानमा दुई सातासम्म फिल्मको सुटिङ हुनेछ भने बाँकी सुटिङ काठमाडौंमा गरिनेछ ।

युनिट पर्वत प्रस्थान गर्नु अघि युनिटमा सहभागी सबै कलाकार तथा प्राविधिकको पिसिआर परिक्षण गरिएको र खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराइएको जानकारी रिजालले दिए ।

पर्वत पुगेर पनि र्‍यापिड टेष्ट गरी स्वास्थ्य मापदण्ड अपनाएर सुटिङ अघि बढाइएको उनको भनाई छ ।

फिल्ममा जितु ह्यारी र साम्राज्ञी राज्य लक्ष्मी शाह उनको प्यारीका रुपमा देखिनेछन् ।साथमा विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गर्दैछन् ।

फिल्ममा कथा पनि डा. कपिलकै रहेको छ भने पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवीले लेखेका छन् ।

त्यस्तै गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ ।

Categorized in पेजथ्री