पत्रकार दबू काठमाडौंमा अर्विन्द्रको नेतृत्व
SamacharDesk – सोसियल ब्यूरो | २०७६ भाद्र ९, सोमबार

नेवाः राष्ट्रिय पत्रकार दबू, काठमाडौं जिल्लाले अर्विन्द्रमान सिंहको नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न जिल्लाको तेश्रो अधिवेशनले सिंहलाई सर्वसम्मतिमा अध्यक्ष चयन गरेको हो ।
नयाँ गठित कार्यसमितिको उपाध्यक्षमा प्रवीण महर्जन रहेका छन् भने रत्नकाजी मनलाई सचिव चयन गरेको छ । यसैगरी सह सचिवमा शरणहरि महर्जन, सह सचिव महिलामा विनिता खड्गी र कोषाध्यक्षमा राजेन्द्र मानन्धर ‘नीलः’ रहेका छन् ।
९ जना सदस्यमा भने रेखा शाक्य, राजेन्द्र मानन्धर, विमला मानन्धर, शैलेस डंगोल, किचः सिंह, रोजिता बुद्धाचार्य, विजय सिंह, मनोजरत्न शाही र सहयोग रंजित रहेका छन् ।
सोभन्दा अघि जिल्लाको तेश्रो अधिवेशन र पाँचौ साधारण सभाको उद्घाटन सत्रमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले हाल पत्रकारिता क्षेत्रको विश्वशनियता घट्दै गइरहेको धारणा राख्नुभयो । अनलाईनमा आउने आधारहीन समाचारहरुका कारण समाचारको विश्वसनियतामा प्रश्न चिन्ह खडा हुन थालेको मेयर शाक्यको भनाई थियो ।
‘फेसबुकमा स्टाटस एउटा लेख्दैमा कोही पत्रकार हुँदैन । र अनलाईनमा आउने जथाभावि समाचारहरु पनि नियन्त्रण गरिनुपर्छ । नत्र पत्रकार र समाचारको विश्वास घट्दै जानेछ’ मेयर शाक्यले भन्नुभयो ।
त्यसैगरी प्रदेश ३ का सांसद् राजेश शाक्यले प्रदेश ३ मा नेवाः पत्रकारीता विकासको लागि आफु प्रतिवद्ध रहेको भनाई राख्नुभयो । ‘पत्रकार दबू काठमाडौं जिल्लाको हालसम्म भवन छैन । कुनै सार्वजनिक जग्गा भेटिए भवन बनाइदिनका लागि सहयोग उपलब्ध गराउन म तयार छु’ शाक्यको भनाई थियो ।
सोही कार्यक्रममा जिल्लाका साविक अध्यक्ष नातिकाजी महर्जनले फोटो पत्रकारीता पुरस्कारको घोषणा गर्नुभयो ।
कार्यक्रममा साविक अध्यक्ष महर्जनलाई कार्यसमितिको तर्फबाट सम्मान गरिएको थियो । सम्मानित महर्जनलाई मेयर शाक्यले दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्नुभयो ।
Categorized in समाज