arin enterprises

स्थानीय निर्वाचका लागि दल दर्ताको संख्या १०६ पुग्यो

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ६, शुक्रबार

स्थानीय तहको निर्वाचनका लागि थप तीन दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी दर्ता भएका हुन्।

तीन दल दर्ता भएसँगै आयोगमा दर्ता भएका दलको संख्या १ सय ६ पुगेको छ। आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनमा सहभागी हुन दल दर्ता प्रक्रिया सुरु भएको हो।

यसैबीच आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई आउँदो स्थानीय तह निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न आयोगले आग्रह गरेको छ ।

आयोगले निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ । सो निर्देशिका अनुसार सम्बन्धित पालिका स्तरमा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरीने जनाइएको छ । प्रवक्ता पौडेलले मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजकोे स्पेसिफिकेसन र लगत अनुमान स्वीकृत गरी खरिद प्रक्रिया अगाडी बढाइएको बताउनुभयो । त्यस्तै मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीको स्पेसिफिकेशन पनि आयोगबाट स्वीकृत भएको उहाँले जानकारी दिनुभयो ।

आयोगले जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ती गर्न तथा अन्य सेवाका राजपत्रांकित अधिकृतहरुलाई निर्वाचन अधिकृतमा नियुक्ती गर्न फागुन १५ गतेसम्म आयोगमा नामावली उपलब्ध गराउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरेको छ । त्यस्तै निर्वाचन अधिकृतमा नियुक्ती गर्न नेपाल प्रशासन सेवाका राजपत्रांकित द्धितिय श्रेणीका अधिकृतको नामावली पनि फागुन १५ गतेसम्म उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि आर्थिक कार्यविधि सञ्चालन गर्न आयोगले स्थानीय तह निर्वाचन आर्थिक कार्यविधि २०७८ तयार गरी सहमतीका लागि नेपाल सरकार अर्थ मन्त्रालयमा अनुरोध गरिसकेको छ ।

Categorized in राष्ट्रिय