arin enterprises

आयल निगमले फेरि पेट्रोलियम पदार्थमा भाऊ बढायो

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ८, आइतबार

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले  पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४५ रुपैयाँ तय गरेको छ । त्यस्तै डिजेल÷मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२८ रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु. ५.६१ ले बढेको, डिजेल रु ५.६२ ले बढेको र हवाई इन्धन रू ४.९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब रू २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।

एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ । यसअघि निगमले माघ १८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

Categorized in राष्ट्रिय