arin enterprises

विकास आयोजनामा कसैको दबाव स्वीकार्य छैन : परराष्ट्र मन्त्रालय

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ९, सोमबार

आइतबार संसदमा विरोधका बाबजुद पेश भएको एमसीसीबारे परराष्ट्र मन्त्रालयले आप्mनो धारणा सार्वजनिक गरेको छ ।

एमसीसीलाई लिएर चीन र अमेरिकाबीच वाकयुद्ध सुरु भएपछि नेपालले दुबै देशलाई जवाफ दिएको हो । उसले एक विज्ञप्ति जारी गर्दै कुन विकास सहायता लिने कुन नलिने भन्ने निर्णय नेपालको सार्वभौम संसदले मात्र गर्ने जनाएको हो ।

मुलुकको राष्ट्रिय हित र प्राथमिकताका आधारमा नेपालले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले सधैं स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको र यो नीतिअनुरूप सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा नेपालले आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गरेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको विकास र पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय विकास सहायताले महत्वपूर्ण भूमिका खेलेको परराष्ट्रले जनाएको छ । पछिल्ला दिन नेपाल र एमसीसीलाई लिएर अमेरिका र चीनबीच भनाभन चलेको थियो । अमेरिकाले एमसीसी नेपालको संसदबाट अनुमोदन नभए चीनको कारण पास नभएको भन्ने बुझ्ने बताएपछि चीनले त्यसको प्रतिवाद गरेको थियो । 

चीनले एमसीसी अनुमोदन गर्न अमेरिकाले नेपालमाथि ‘धम्कीपूर्ण कूटनीति’ अपनाएको आरोप लगाएको थियो ।

Categorized in राष्ट्रिय