arin enterprises

भगवान विष्णु ब्युँझिने दिन, आज हरिबोधिनी एकादशी

SamacharDesk – कल्चर ब्यूरो | २०७६ कार्तिक २२, शुक्रबार

आज कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी । देशभरका विष्णु मन्दिरहरुमा भगवान विष्णुको दर्शन र पूजा आराधना गर्न भक्तजनहरु भेला भइरहेका छन् ।

हरिबोधिनी एकादशी भगवान विष्णुको ठुलो महिमा भएको दिनको रुपमा पनि लिने गरिन्छ । त्यसैले यसलाई ठुलो एकादशी पनि भन्न चलन छ ।

आजको दिन भक्तालुहरु विहानैदेखि नुहाईधुवाई अनि चोखो भइ नारायणको आराधना गर्दै व्रत बस्ने अनि फलाहार तथा कन्दमुल लगायतका चोखो खानेकुरा खाने चलन छ ।

हरिशयनी एकादशीका दिन चिर निद्रामा जानुभएका विष्णु आजको दिनमा ब्युझिने हुने विश्वास गरिन्छ ।

विगतमा आजको दिनमा भक्तजनहरु नजिकको विष्णु मन्दिरमा खाली खुट्टा हिँडेर सूर्य उदाँउदादेखि अस्ताँउदासम्म पूजापाठ गरेर बस्ने चलन थियो । यसक्रममा भक्तजनहरु उपत्यकाको चारै नारायण एकैदिनमा हिँडेर पुग्ने पनि गर्दथे भन्ने कथन छ ।

यसरी हिँडेर चारै नारायण पुग्ने तिर्थालुहरु अन्त्यमा फर्पिङ्गको शेष नारायणमा पुगेर आफ्नो तिर्थाटन समापन गर्ने गर्दथे ।

काठमाडौको पश्चिममा इचङ्गु नारायण, पूर्वमा चाङ्गु नारायण, उत्तरमा विशखुं नारायण अनि दक्षिणमा शेष नारायण रहेका छन् ।

हरिबोधिनी एकादशीलाई वर्षको चाडपर्वहरुको खाता वन्द हुने दिनको रुपमा पनि लिने गरिन्छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तिलाई आजबाट बाल्न बन्द गरिने चलन पनि छ ।

आजकै दिन तुलसी विवाह गर्ने प्रचलन पनि समाजमा रहेको छ । विधीपूर्वक तुलसीको होम लगाएर आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसँग विवाह गरिदिने परम्परा रहेको छ । 

वैदिक सनातन हिन्दू धर्मशास्त्रमा आयूर्वेदीय गुण समेत बोकेको तुलसीको महत्व ठूलो छ । 

हरिशयनी एकादशीको दिनमा पवित्र विरुवाको रुपमा तुलसीको विरुवा घरघरमा रोप्ने चलन आजसम्मै छ । घरको आँगनमा तलुसी रोपिएको स्थानलाई बिवाह ब्रतबन्ध लगायतका शुभ कार्यको साथै मृत्यूशैयासम्मका लागि पवित्र स्थान मानेर उपयोग गरिने चलन छ । 

पद्मपुराणमा बिन्दादेवीले पृथ्वीमा आएर भगवान बिष्णुलाई आफ्नो पतिको रुपमा पाउन गरेको तपस्यासँग तुलसीको महत्वलाई गाँसिएको पाइन्छ । त्यस्तै श्रीमद्भागवतको ३–५–१९औं खण्डमा तुलसी बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको पाइन्छ ।

आजकै दिन नयाँ धानको चामल कुटेर त्यसमा दही, सख्खर आदि मिसाएर न्वाँगी चढाउने र प्रसादका रुपमा ग्रहण गर्ने चलन पनि छ ।

Categorized in संस्कृति