arin enterprises

आज विश्व रंगमञ्च दिवस मनाउँदै

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र १३, आइतबार

आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

हरेक वर्ष मार्च २७ मा विश्वभर नाटकीय प्रस्तुतिमार्फत सन्देश फैलाउन यो दिवस मनाइन्छ । सन् १९६१ मा इन्टरनेशनल थिएटर इन्स्टिच्युटले विश्व रंगमञ्च दिवस मनाएको थियो ।

त्यसपछि १९६२ मार्च २७ बाट विश्वभरीमै यसलाई अन्तर्राष्ट्रिय दिवसकै रुपमा मनाउन थालिएको हो । १९६२ मा पहिलो विश्व रंगमञ्च दिवसको सन्देश लेख्ने व्यक्ति फ्रान्सका प्रसिद्ध नाटकार जीन कोक्टोउ थिए ।

नेपाललाई नाटक र रंगमञ्चको उर्वर भूमि मानिएको छ । नेपालमा लिच्छविकालमै नाट्य परम्पराको शुरुवात भइसकेको देखिन्छ । मल्लकालमा राजाहरु नै नाटक रचनामात्र होइन, अभिनयमै सक्रिय रहँदा यो समय नाट्य क्षेत्रको लागि स्वर्णकाल नै बनेको थियो ।

परापूर्वकालदेखि नै चलि आएका देवी नाच, दबू प्याखं, गथु प्याखं, कार्तिक नाच, मातृका नाच, लाखे नाच यसका उदाहरणहरु हुन् । वर्तमान समयमा रंगमञ्च क्षेत्रमा नयाँ पुस्ताले नयाँ धारको शुरुवात गरेको छ ।

केही समय अगाडी रंगमञ्चको अस्तित्व संकटमा पर्दै गएको अवस्था थियो । गुरुकुलमार्फत नयाँ पुस्ताले नाट्य परम्परामा नयाँ सोच र धारको शुरुवात गरेपछि यसले नयाँ गति लिएको हो ।

हालका चर्चित कलाकारहरु अनुप वराल, दिया मास्के, कर्म शाक्य, श्रृजना सुब्बा, केकी अधिकारी, दयाहाङ राई, विपिन कार्की लगायतका कलाकार रंगमञ्चबाटै जन्मिएका कलाकार हुन् ।

रंगमञ्चले अहिले राम्रो गति लिएको अवस्था भएपनि राज्यबाट उचित सम्मान नपाएको रंगमञ्चकर्मीहरुको गुनासो छ ।

Categorized in पेजथ्री