विमस्टेकको पाँचौं शिखर सम्मेलन सुरु
SamacharDesk – राम डंगोल | २०७८ चैत्र १६, बुधबार

विमस्टेकको पाँचौं शिखर सम्मेलन श्रीलंकामा सुरु भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आजदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताउनुभएको छ ।
उहाँले दिगो विकास र शान्तिको लागि विम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा राख्नुभयो ।
सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् । श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले सम्मेलनको अध्यक्षता गर्नुभएको छ ।
सम्बोधनका क्रममा उहाँले बिमस्टेकलाई नयाँ प्रतिबद्धतासहित नयाँ जीवन दिनका लागि सबै सदस्य राष्ट्रहरु शक्तिलाई केन्द्रीकृत गर्न आग्रह गर्नुभयो ।
Categorized in राष्ट्रिय