arin enterprises

तीनवटा सम्झौता अनुमोदन गर्दै बिमस्टेक बडापत्र पारित

SamacharDesk | २०७८ चैत्र १६, बुधबार

श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचै शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ ।

भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री देउवाले बडापत्रमा हस्ताक्षर गर्नुभएको छ । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन् । सम्मेलनले तीनवटा नयाँ सम्झौता अनुमोदन गरेको छ । तीमध्ये दुईवटा सम्झौतापत्रमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालको तर्फबाट हस्ताक्षर गर्नुभएको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका सम्झौतामा आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी बिमस्टेक महासन्धि र श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आबद्धता रहेका छन् ।

त्यसैगरी, परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले ‘बिमस्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान÷प्रशिक्षण संस्थाहरूबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’मा हस्ताक्षर गर्नुभएको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताउनुभएको छ । उहाँले दिगो विकास र शान्तिको लागि विम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा राख्नु भएको थियो ।

Categorized in राष्ट्रिय