प्रधानमन्त्री देउवा बनारस भ्रमणमा
SamacharDesk – राम डंगोल | २०७८ चैत्र २०, आइतबार

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज बनारस पुग्नुभएको छ ।
आज विहान एअर इण्डियाको विशेष विमानबाट बनारस पुग्नुभएका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभएको छ ।
प्रधानमन्त्री देउवासंग मूख्यमन्त्री आदित्यनाथले शिष्टाचार भेटवार्ता समेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले बनारसस्थित काशाीविश्वनाथ मन्दिरमा दर्शन तथा पूजा गर्नुहुने छ भने ललिताघाटस्थित नेपाली मन्दिरमा पनि उहाँले पूजा गर्ने कार्यक्रम छ । बनारसको कार्यक्रम सम्पन्न गरेर नयाँ दिल्ली फर्केर देउवा आजै साँझ स्वदेश आउनु हुने छ ।
यसअघि हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न भारतीय समकक्षी नरेन्द्र मोदीसँग आग्रह गर्नुभएको छ । नयाँदिल्लीको हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले समकक्षी मोदीसँग सीमा विवादको कुरा उठाएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले आफुहरुबीच सीमा विवादका विषयमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भारतसमक्ष थप तीनवटा हवाइ रुट उपलब्ध गराउन माग गर्नुभयो । भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा कुराकानी भएको बताउँदै उहाँले महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको हवाई रुट उपलब्ध गराउन आग्रह गरेको उल्लेख गर्नुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको बताउनुभयो । दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको भन्दै भारत र नेपालबीचको मित्रता तथा नागरिक सम्बन्धको उदाहरण विश्वमै कहीँ देख्न नपाइने उहाँको भनाइ थियो ।
अनादिकालदेखि हामी एक अर्काका सुख–दुःखका साथी रहेका छौँ, भारती प्रधानमन्त्री मोदीले भन्नुभयो । उहाँले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने बताउनुभयो ।
भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबीच सहमति भएको मोदीको भनाइ थियो ।
नेपालमा बढी भएको विद्युत भारतीय बजारमा आउँदा आफुलाई खुसी लागेको उहाँको भनाइ थियो ।
Categorized in राष्ट्रिय