arin enterprises

काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न, सर्वसाधारणका लागि खुला

SamacharDesk – Ram Dangol | २०७८ चैत्र २१, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज पुनर्निर्मित काष्ठमण्डपको उद्घाटन गर्नुभएको छ । उहाँले काष्ठमण्डपको पुनर्निर्माण मौलिक र आकर्षक रुपमा सम्पन्न भएको बताउनुभएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सकिएको उक्त काष्ठमण्डको सोमबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो ।

पुनर्निर्माण सम्पन्न भएसँगै अब काष्ठमण्डप सर्वसाधारणका लागि खुला गरिएको छ । काष्ठमण्डप परिसरमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट साँचो प्रदर्शन गरी सोको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत काष्ठमण्डपको पुनः निर्माण र जीर्णोद्धार कार्य सम्पन्न भएकामा खुसी व्यक्त गर्दै निर्माणमा संलग्न  काठमाडौँ महानगर र सम्पदाकर्मी तथा निर्माण कार्यमा संलग्न व्यक्तिहरूको प्रशंसा गरिन् ।

राष्ट्रपति भण्डारीले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न यस्ता ऐतिहासिक सम्पदाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुुभयो ।

महानगरको ३० करोड ५० लाख रुपियाँको लगानीमा तीन वर्ष आठ महिनाको समयमा सो पुनर्निर्माण गरिएको हो । काष्ठमण्डप पुनर्निर्माण गर्न करिब आठ हजार क्यू फिट नयाँ र काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएका पुरानो करिब चार हजार नौ सय क्यु फिट काठ प्रयोग भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

सोमबार उद्घाटन भएसँगै काष्ठमण्डप साढे ६ वर्षपछि सर्वसाधारणका लागि पनि खुला भएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले पुनर्निर्माण कार्य र सम्पदा संरक्षणमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्नुभएको थियो । निर्माण समितिले निर्माणकार्य निरन्तर चलिरहने प्रक्रिया भएकाले उद्घाटन नभई लोकार्पणको कार्यक्रम तय गरिएको जनाएको छ ।

कार्यक्रममा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष एवं प्रदेशसभा सदस्य राजेश शाक्यले पुनर्निर्माणपछि काष्ठमण्डपको साँचो काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो ।

Categorized in राष्ट्रिय