“चोभार सुक्खा बन्दरगाह अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास हुन्छ”
SamacharDesk | २०७८ चैत्र २२, मंगलबार

चोभार सुक्खा बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । वीरगञ्जबाट आएको मालबाहक ट्रकलाई प्रवेश गराएर आजदेखि बन्दरगाह सञ्चालनमा ल्याइएको छ ।
बन्दरगाह सञ्चालनमा आएपछि अब व्यवसायीले आयात गरेको वस्तु बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने छन् ।
चोभारमा सुख्खा बन्दरगाहको समुद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले उक्त सुख्खा बन्दरगाहा सञ्चालनमा आएपश्चात् छिमेकी मुलुक र अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास गर्न कोशेढुंगा हुने बताउनुभयो ।
यस कुरालाई आत्मसात् गरी नेपाल सरकारले मुलुकका विभिन्न ठाउँमा सुख्खा बन्दरगाह निर्माण गरिने विषय प्राथमिकतामा रहेको पनि उहाँले बताउनुभयो ।
देशको व्यापार घाटा कम गर्ने प्रतिस्पर्धाको क्षेत्रमा स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनशील क्षेत्रमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।
यससँगै नेपालमा रेलको आवश्यकता रहेको तर यसका लागि धेरै खर्च लाग्ने हुँदा दातृ राष्ट्रसँग सस्तो ब्याजदरमा ऋणमार्फत यो प्रक्रिया अगाडि बढ्नुपर्ने पनि उहाँले बताउनुभयो ।
नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको छ । २०७५ माघ ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्यास गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय