arin enterprises

नेपाललाई थप विद्युत भारतमा बिक्री गर्न अनुमति

SamacharDesk – Ram Dangol | २०७८ चैत्र २३, बुधबार

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सहमति बमोजिम नेपालले भारतीय विद्युत बजारमा थप ३२५ मेगावट विद्युत बिक्री गर्न स्वीकृति पाएको छ । अब नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार नेपालको अतिरिक्त बिजुली बिक्री गर्न पाउने भएको छ ।

बुधबार ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालले भारतीय विद्युत उर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावट विद्युत बिक्रीको अनुमति पाएको बताउनु भएको हो ।

सो अवसरमा मन्त्री भुसालले नेपालमा उत्पादित विद्युत आन्तरिक खपत पुरा गरेपछि बाँकि रहेको विद्युत अन्य देशहरुमा समेत विक्री गर्न सक्ने बाटो खुल्ला भएको बताउनु भयो । सरकारले विद्युत बजार विस्तारको लागि भारत, बंलादेश, भुटान र नेपालमा उत्पादन, ट्रान्समिसन लाईन र क्रस बोर्डर ट्रान्समिसन लाइनहरु निर्माण गर्ने बाटो खुल्ला भएको दाबी गर्नु भयो ।

उहाँले यो अनुमति पाएसँगै दुई देशबीचको व्यापार घाटामा कमी आइ अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो । मन्त्री भुसालले यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावट विद्युत भारतीय उर्जा एक्सचेन्ज आइएम्समा बिक्री गर्न स्वीकृति दिएकोमा अहिले थप ३२५ मेगावट भएको बताउनु भयो ।

मन्त्री भुसालले पछिल्लो समय विद्युतको घरायसी तथा उद्योगमा विद्युत खपत बढ्दै गएको दाबी गर्नु भयो । अहिले रुस र युक्रेनको युद्धको कारण विद्युत आपूर्तिमा समस्या हुँदा विद्युत कटौती भएको भन्दै मन्त्री भुसालले अब सरकारले उद्योगहरुले माग जति विद्युत दिन सक्ने दाबी गर्नु भयो ।

उहाँले अन्य देशमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा अन्य विकल्प छैन तर नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि विद्युत विकल्पमा रहेको दाबी गर्नु भयो । सरकारले विद्युत उत्पादन बढाउनको लागि अन्य ठूला आयोजनाहरु समेत निर्माणको तयारी गरिरहेको बताउनु भयो ।

त्यस्तै, नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीहरुले भने जस्तो १४ घण्टा उद्योगहरुमा लोेडसेडिङ नभएको बताउनु भयो । उहाँले तत्कालिन समयमा भारतबाट विद्युत खरिद गर्न समस्या आएकाले कही कतै विद्युत कटौती भएकोबाहेक कुनै उद्योगमा लोडसेडिङ नगरिएको दाबी गर्नु भयो ।

Categorized in राष्ट्रिय