सर्वाेच्च शिखर सगरमाथा चढ्नेहरु बढे
SamacharDesk | २०७९ बैशाख २, शुक्रबार

विश्वको सर्वाेच्च शिखर सगरमाथामा आरोहण गर्नेको संख्यामा वृद्धि भएको छ । कोभिड–१९ महामारीले थला परेको पर्यटन क्षेत्र करिब २ वर्षपछि विस्तारै तंग्रिने क्रममा छ । पर्यटनको महत्वपूर्ण पाटोको रूपमा रहेको पर्वतारोहणमा यो समय केही उत्साह देखिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअनुसार सगरमाथा आरोहणका लागि मात्रै हालसम्म ३१ आरोही समूहका २५० आरोहीले आरोहण अनुमति लिएका छन।
विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा १३ अप्रिलसम्म ८४ आरोहण दलका ६८९ आरोहीलाई अनुमति दिइएको छ । हिमाल आरोहणबाट हालसम्म ३७ करोड ३८ लाख ५१ हजार ४२१ रोयल्टी उठेको मन्त्रालयले जनाएको छ ।
सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुबै मोहोडाबाट चुचुरोमा पुग्ने विदेशी आरोहीको संख्या ४ सयको हाराहारीमा थियो ।
हरेक वर्ष यस याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल तथा पिक आरोहणका लागि उल्लेख्य संख्यामा स्वदेशी तथा विदेशी आरोही आउँछन् ।
यतिखेर पर्वतारोहणका मुख्य सिजन पनि भएकाले आरोही उल्लेख्य संख्यामा आइरहेको व्यवसायीको भनाइ छ । यस वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि उल्लेख्य संख्यामा आरोही आएका हुन् ।
Categorized in राष्ट्रिय