arin enterprises

ट्रायथलनमा नेपाललाई पहिलो स्वर्ण

SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ मङ्सिर १६, सोमबार

१३औं दक्षिण एसियाली खेलकुद सागको ट्रायथलनमा सोनी गुरुङ्गले नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी छिन् । 

दक्षिण एसियाको पावर हाउस मानिने भारतलाई पछि पार्दै सोनीले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । 

निर्धारित ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ्ग र ५ किलोमिटर दौड एक घन्टा १३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै सोनीले स्वर्णपदक जितेकी हुन् । 

पौडी र साईक्लिङ्गमा पछि परेकी उनले दौडमा बाजी मारेकी थिइन् । 

भारत दोस्रो र तेस्रो स्थानमा रह्यो । 

सोनीलाई नेपाल ट्रायथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले एक लाख रुपैयाँ तथा गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

 

पुरुषतर्फ कास्यमै सीमित 

पोखराको फेवा लेकमा भएको प्रतिस्पर्धामा पुरुषतर्फ भने भारतले नै स्वर्णको साथमा रजत पदक जितेका छन् । भारतका आदर्श एमएन सिनिमोलले निर्धारित दूरी १ घन्टा २ मिनट ३१ सेकेन्ड र बिश्वरजित साईखोमले १ घन्टा २ मिनट ५९ सेकेन्डमा पूरा गरेका थिए ।

नेपाली खेलाडी बसन्त थारु कास्य पदकमै सीमित भए । उनले निर्धारित दूरी १ घन्टा ३ मिनट ६ सेकेन्डमा पूरा गरे । 

दुवाथलनको खेल मंगलबार बिहान ८ बजेबाट सुरु हुनेछ ।

Categorized in स्पाेर्ट्स