महिला क्रिकेटमा नेपालको विजयी शुरुवात
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ मङ्सिर १६, सोमबार

१३औं दक्षिण एसियाली खेलकुद सागको महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।
पोखरामा सुरु भएको ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराएको हो ।
१७ रनको झिनो लक्ष्यसहित मैदानमा उत्रेको नेपालले एक ओभर नै हुन नपाउँदै विना कुनै विकेटको क्षति खेलमा जित हात पार्यो ।
नेपाललाई जित दिलाउन काजोल श्रेष्ठले १३ रन बनाइन् ।
सोभन्दा अघि, खेलमा पहिले ब्याटिङ गरेको माल्दिभ्सले १० ओभर १ बलमा अलआउट हुँदै मात्र १६ रन बनाएको थियो ।
माल्दिभ्सका नौ खेलाडीले रनको खातासमेत खोल्न नसकेको इनिङ्समा अञ्जली चन्दले विश्व कीर्तिमान बनाइन् । अञ्जलीले बिना कुनै रन दिएर दुई ओभर १ बलमा ह्याट्रिकसहित ६ विकेट लिइन् । यसअघि मलेसियाकी मास अलिसाको नाममा ३ रन खर्चेर ६ विकेट लिएको कीर्तिमान थियो ।
करुणा भण्डारीले २ विकेट लिइन् ।
अब नेपालले बुधबार बंगलादेशसंग र शुक्रबार श्रीलंकासँग खेल्नेछ ।
चार टिमबीच भइरहेको खेलमा शीर्ष दुई टिमले स्वर्णपदकका लागि फाइनल खेल्नेछन् ।
Categorized in स्पाेर्ट्स